सिद्धार्थनगर। बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोपमा खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रालि. का सञ्चालक डा. सतिस रूपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाकी गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएपछि उनका आफन्तले दिएको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । यसअघि जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत, निलम घर्ती मगर र इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे लाई प्रहरीले पक्राउ गरेको थियो ।
वैशाख ५ गते करिब १२ हप्ताकी गर्भवती पाण्डे श्रीमान्सँग बुटवलको इँटाभट्टास्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। खत्री मेडिकलले त्याहाँबाट रिफर गर्दै जोनल फार्मेसी र इन्दुलेखा क्लिनिक पुऱ्याउँदासम्म पाण्डेको मृत्यु भइसकेको थियो ।
लापरबाहीपूर्ण तरिकाले एकले अर्को क्लिनिकमा रिफर गर्दै गर्भपतन गराउँदा पाण्डेको मृत्यु भएको भन्दै मृतकका श्रीमान् प्रकाश पाण्डेले इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए ।
खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा घटनापछि मृतकका आफन्तले तालाबन्दी गरेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै केही समय पूर्वपश्चिम राजमार्ग अन्तर्गत चौराहा क्षेत्रमा सडक अवरुद्ध समेत गरेका थिए।