काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) को ओरालो यात्राले साताको तेस्रो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १७ दशमलव ९१ अंकले खुम्चिएको नेप्से परिसुचक आज पनि दुई दशमलव ९५ अंकले ओरालो लागेर २८ सय चार दशमलव १७ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ६५ अंकले उकालो लागेर चार सय ७१ दशमलव २२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४२ वटा कम्पनीहरुको एक लाख २१ हजार चार सय ३३ पटकको कारोबारमा एक करोड ७५ लाख ८८ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार तीन सय ४२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये बाणिज्य बैंक, फाईनान्स, निर्जीवन बीमा, लगानी र उत्पादनमुलक उपसमुहको सुचक पनि उकालो लागेका छन् भने बिकास बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् ।