काठमाडौं , सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहका सञ्चालक सुलभ अग्रवालको न्यायिक हिरासत अवधि ७ दिन थप गरिएको छ।बुधवार दुवैजनालाई थप हिरासतमा राख्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगे पनि बीमा ऐन तथा धितोपत्र ऐनसँग सम्बन्धित थप पक्षहरूको अनुसन्धान जारी रहेकाले हिरासत म्याद थप आवश्यक भएको हो।
अनुसन्धानका क्रममा कर समूहअन्तर्गतको एक कम्पनीबाट दीपक भट्टको बैंक खाता हुँदै हिमालयन रिइन्स्योरेन्समा रकम प्रवाह भएको विषयमा पनि छानबिन भइरहेको बताइएको छ। सोही क्रममा बैंकिङ कसुर, धितोपत्र कारोबार तथा बीमा सम्बन्धी कानुन उल्लंघनसँग सम्बन्धित प्रमाणहरू फेला पर्न थालेको दाबी अनुसन्धान निकायले गरेको छ।
यस प्रकरणमा शेखर गोल्छासहित केही व्यापारी समूहको नाम समेत धितोपत्र कारोबार तथा सम्भावित इन्साइडर ट्रेडिङसँग जोडिएर सार्वजनिक चर्चामा आए पनि उनीहरू हालसम्म पक्राउ परेका छैनन्।
यस्तै, केही लगानी संरचनासम्बन्धी विवरण सार्वजनिक भएपछि राजनीतिक तथा व्यावसायिक वृत्तमा समेत बहस चर्किएको छ। (यस विषयमा सम्बन्धित निकायले आधिकारिक पुष्टि नगरेका दाबीहरू पनि सामाजिक सञ्जालमा फैलिएका छन्।) अनुसन्धान निकायले भने सबै कोणबाट छानबिन जारी रहेको र आवश्यक प्रमाण संकलनपछि मात्र थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।