काठमाडौं । सरकार गठन भएको २६ दिनमै गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन बाध्य भएका छन् । बिचौलिया छविका विवादास्पद व्यवसायी दीपक भट्ट सेयर होल्डर रहेको कम्पनीमा गुरुङको पनि सेयर रहेको पाइएपछि उनीविरुद्ध सार्वजनिक रुपमा प्रश्न उठेको थियो । सम्पत्ति विवरणमा समेत उक्त सेयर लगानी नखुलाएका कारण गुरुङको लगानीलाई लिएर ठूलो प्रश्न खडा भएपछि अन्ततः बुधबार राजीनामा दिन बाध्य भएका हुन् ।
गुरुङले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मिति (बुधबार)देखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु’, उनले लेखेका छन्, ‘मैले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।’
पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले जनाएका छन् । गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए ।
सम्पत्ति विवरणमा लुकाएका थिए भट्टको कम्पनीमा लगानी गरेको सेयर
राजीनामा दिएका गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण चैत २९ मा सरकारले सार्वजनिक गरेको थियो । तर त्यसमा विवादास्पद व्यापारिक समूह शंकर ग्रुप शंकर ग्रुपका सुलभ अग्रवाल र बिचौलिया दीपक भट्टको धेरै सेयर भएको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गृहमन्त्री गुरुङको ५० लाख रुपैयाँको सेयर उनले देखाएका थिएनन् ।
उनले ४ करोड ४१ लाख ५६ हजार २ सय रुपैयाँबराबरको सेयर लगानी रहेको विवरणमा राखे पनि उक्त सेयर लुकाएका थिए । विवरणमा उनले आफ्नो नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर (खरिद मूल्य ३० लाख मूल्य), लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान –खरिद मूल्य ५७ लाख), धितोपत्र बजारमा कारोबार हुने सेयरहरू दुई करोड ७४ लाख ५६ हजार दुई सय रुपैयाँबराबरको, एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार थान (खरिद मूल्य ७० लाख) मात्र खुलाएका थिए । त्यो सबैको स्रोत व्यवसाय र पैतृक सम्पत्तिलाई देखाएका थिए ।
सेयरबाहेक उनले ८९ तोला सुन र ६ किलो चाँदी, ६१ लाख बढी नगद मौज्दात, लक्ष्मी बैंकमा पाँच लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा एक हजार पाँच सय ७४ रुपैयाँ मौज्दात देखाएका थिए भने लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रुपैयाँको गाडी, धनकुटाको कार्कीछापमा १९ रोपनी १५ आना, बुबाको नाममा चितवनमा ३० कट्ठा र बाजे रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको विवरणमा खुलाएका थिए । यी सबै खुलाउँदा उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा रहेको सेयर भने लुकाएको पाइएपछि पद छोड्ने दबाब बढेको थियो ।
यी दुई कम्पनीमा हाल सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेर अनुसन्धान भइरहेका बिचौलिया एवं विवादास्पद व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टको धेरै सेयर रहेको र गुरुङको सेयर लगानी पनि एकै कम्पनीमा पाइएपछि गृहमन्त्री गुरुङविरुद्ध अनुसन्धान गर्नुपर्ने माग बढेको छ । पदबाट राजीनामा दिएसँगै उनको सम्पत्तिको स्रोतको खोजबिनका लागि मार्गप्रशस्त भएको छ । यद्यपि उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा रहेको सरकारले उनीविरुद्धको अनुसन्धानलाई कसरी अगाडि बढाउँछ, हेर्न बाँकी नै छ ।
गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई
राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोकेका छन् । उनले प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले बुधबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको हुँदा निजले सम्हालिआएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।