कुनै पनि सरकारी संस्था हुन् कि निजी क्षेत्र, तिनको कारोबारको अवस्था बताउने प्रमुख माध्यम नै लेखा परीक्षण हो । सरकारी निकायको लेखा परीक्षण गर्ने महालेखा परीक्षक भएजस्तै सरकारी सस्थाहरू र नागरिकका लगानी भएका लिमिटेडहरूको लेखा परीक्षकबाट देखाइएको विवरण नै अन्तिम हुन्छ । त्यो घाटामा गएको होस् कि नाफामा, त्यसले राज्यलाई तिर्नुपर्ने कर तिरको छ कि छैन, आफैँ विधिवत चलेको छ कि ढाँटछल गरेर भन्नेजस्ता कुराको निर्धारण हुने वा गर्ने माध्यम नै लेखा परीक्षण भएको प्रतिवेदन हो । सरकारको आयव्ययको लेखा परीक्षण महालेखा परीक्षकले राखे जस्तै कम्पनीहरूको लेखा परीक्षण भने उनले आफैंले नियुक्त गरेका परीक्षकहरूबाट हुन्छ । जसप्रति राज्य भर पर्नुपर्ने हुन्छ । त्यसकारण पनि यस्ता परीक्षकहरू कति नैतिकवान हुनपर्छ भन्ने यी अवस्थाहरूले नै निर्धारण गर्छन् । अहिलेको प्रश्न हो, यस्ता परीक्षणहरू के–कति भरपर्दा छन् भन्ने सोधीखोजी कमै भएको पाइन्छ । जसले राज्य र नागरिकले पनि धोका पाइरहेका हुन सक्छन् । किनभने त्यही प्रतिवेदन हेरेर नागरिकले सम्बन्धित कम्पनीमा आफ्नो लगानी गर्छन् भने राज्यले पनि त्यसकै आधारमा कर प्राप्त गर्छ ।
तर पछिल्लो समयभने खासगरी निजी क्षेत्रका लिमिटेड कम्पनीहरूका लेखा परीक्षण प्रतिवेदनहरूले गम्भीर प्रश्न उठाउन थालेको पाइन्छ । त्यसकारण अब यस्ता लेखा परीक्षकहरूमाथि पनि परीक्षण गर्नुपर्ने आवश्यकता देख्न थालिएको हुनुपर्छ । कतिपय कम्पनीहरूका लेखा परीक्षण प्रतिवेदनहरू लेखाको आचरण, धर्म र सिद्धान्तविपरीत आइरहेको भनेर सार्वजनिक समाचारका प्रमुख विषय बन्न थालेका छन् । जसले राज्यको गम्भीर रूपले ध्यानाकर्षण गर्छन् र त्यसको सुनुवाइ पनि हुनुपर्छ । जनताले आफ्नो लगानी गर्ने ठाउँ र राज्यले राजस्व प्रप्त गर्ने ठाउँमा अन्यथा हुन थाल्यो वा भइरहेको छ भने त्यो सामान्य कुरा होइन । लेखा परीक्षण प्रतिवेदन कुनै पनि संस्थाको यथार्थ चित्र हुनुपर्छ । त्यस्तै अपेक्षा पनि गरिन्छ । तर विवरणहरूले नै बताउँछन्, लेखापरीक्षणको माध्यमबाट धेरै ठूलो लुटपाट भइरहेको छ । कुनै कम्पनीद्वारा परीक्षण गरिएका केही कम्पनीहरूको आर्थिक विवरण हेरियो भने प्रारम्भिक नजरमा नै गम्भीर कैफियत भेटिने छन्। जसको छानबिन हुन आवश्यक होला । जस्तो होटल व्यवसाय विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र विदेशी मुद्रासम्बन्धी नियमहरूको पूर्ण पालना हुनुपर्ने कम्पनी हुन् । तर यी कम्पनीमा लाभांश विदेश पठाउँदा न नेपाल राष्ट्र बैंकको स्वीकृति लिइएको देखिन्छ, न त सेयर कारोबार नै भएको । तिनका पछिल्ला लेखा प्रतिवेदन हेरौं । तिनमा नाफा त भइरहेको होला तर प्रतिवेदनमा कतै पनि प्रतिविम्बत हुने गरेको छैन । नमुनाका लागि दुई चारमध्येको सबभन्दा पुरानो नाम चलेको याक एन्ड यतिका लेखा प्रतिवेदन हेर्न सुझाइएको पाइन्छ ।
होटल लाइनकै कम्पनी तारागाउँ रेजेन्सी होटल लिमिटेडको लेखा विवरण हेर्दा रकम हङकङ र ब्रिटिस भर्जिन आइल्यान्डजस्ता कर स्वर्ग मुलुकमार्फत भित्रिएको भन्ने अर्थ लाग्ने देखिन्छ । यही एउटा होटललाई आधार मान्ने हो भने यता औपचारिक माध्यमबाट लगानी आएको देखिँदैन र उता भने लाभांश वितरण भइरहेको पाइन्छ । लेखा परीक्षणको यस्तो शंकास्पद प्रतिवेदनले कम्पनीको वास्तविक अवस्था कसरी बुझाउला भन्ने प्रश्न खडा हुने भयो नै । होटलमात्र होइन आर्थिक कारोबार गर्ने कम्पनीहरूको पनि लेखा परीक्षण प्रतिवेदन भरपर्दा नभएको विज्ञहरूको बुझाइ छ । यस्ता कम्पनीमा लगानीहरू कहाँबाट आए भन्ने लेखा परीक्षकको प्रतिवेदनले प्रष्ट पार्नुपर्ने हो । कतै ती पनि कर छुट भएका मुलुकमार्फत लगानी आएको त होइन भन्ने प्रश्न उठ्छ । त्यसको जवाफ दिने भनेको लेखा प्रतिवेदन नै हो, तर जब लेखा परीक्षण नै यसका अर्थात् कम्पनीका सञ्चालकका इच्छाबमोजिम बन्छ भने त्यसमा कम्पनीको यथार्थ अवस्था नदेखिनु अनौठो भएन । यस्ता धेरै उदाहरण छन् । जो सार्वजनिक माध्यममा समाचार बनेर आइरहेका छन् । यी विषयतर्फ ध्यान गएन भने खासगरी आर्थिक क्षेत्रमा अनर्थ हुन सक्दछ । सम्बन्धित निकायहरूको ध्यान जाओस् ।