काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनितिक दलहरुले कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा बुधबार भएको राजनितिक दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबीचको छलफलले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको हो । साथै छलफलले कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगमा तत्कालका लागि विद्यमान कानुन कडाइका साथ पालना गर्ने र दीर्घकालीन रूपमा आवश्यक संशोधनतर्फ अघि बढ्ने निष्कर्ष निकालेको छ । सभामुख अर्यालले विगतमा सांसदहरूबाट कूटनीतिक राहदानीको दुरुपयोग भएको सन्दर्भ कोट्याउँदै कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले हालको कानुनी व्यवस्थाअनुसार नै राहदानी प्रयोग गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले सांसदहरूलाई सुविधामात्र नभई क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले राहदानी दुरुपयोगका कारण देश बदनाम भएको भन्दै यसको ऐतिहासिक पृष्ठभूमि र नीतिगत आधारबारे पुनरावलोकन आवश्यक भएको बताए । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले कूटनीतिक राहदानीको प्रयोगमा कडाइ गर्नुपर्ने र विशेषगरी विभिन्न उच्चस्तरीय प्रतिनिधिमण्डलमा संलग्न व्यक्तिहरूमार्फत हुने दुरुपयोग रोक्नुपर्नेमा जोड दिए । अन्य दलका प्रतिनिधिहरूले पनि पार्टीभित्र थप छलफल, परामर्श तथा अन्तरराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र दीर्घकालीन निष्कर्षमा पुग्नुपर्ने बताएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सरकारी काममा कूटनीतिक र निजी भ्रमणमा साधारण राहदानी प्रयोग गर्न कुनै जटिलता नभएको बताए । परराष्ट्र सचिव अमृत राईले राहदानी ऐन, २०७६ र नियमावली २०७७ अनुसार सरकारी वा विशेष कामका लागि मात्र कूटनीतिक राहदानी जारी गरिने स्पष्ट पार्दै प्रवेशाज्ञा प्राप्तिमा देखिने व्यावहारिक समस्या समाधानका उपाय खोज्नुपर्नेमा जोड दिएका थिए ।