चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्ने भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् ।
फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुद्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाका अनुसार सो ताल करिव ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने १९८ मिटर अग्लो छहरा आकर्षण थपेको छ ।
तालको गहिराइको मापन भने अझैसम्म गरिएको छैन । यहाँको प्राकृतिक सुन्दरतासँग पर्यटक आकर्षित हने गर्दछन् । प्राकृतिक रुपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ । तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ ।
तत्कालीन जङ्गबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ । विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच भीड हुने गर्दछ ।
भगवान् शिवको क्रिडास्थलका रुपमा भैरवकुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने गरेको स्थानीय वीना रोक्का अधिकारी बताउँछिन् । यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किवंदन्तीे छ । महादेवको उग्ररुपअर्थात् भैरव सम्हारकर्ताका रुपमा मानिन्छ । भैरवकुण्ड नजिकै अर्को प्रख्यातस्थल देउढुङ्गा पनि रहेको छ ।
धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्डमा भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् । आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे ।
काठमाडौँको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरु देख्न सकिन्छ । भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ ।
चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो । त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो ।
हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको सङ्ख्या बढ्दो छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभई सिङ्गो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।