काठमाडौं । गरिमा विकास बैंकले दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको हो ।
यो संगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश भएको छ । बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था इन्टरसर्टको तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई दुवै प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरिमा विकास बैंक गुणस्तरीय बैकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने जानकारी दिए ।
बैंकले नेपालको बैकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर एक सय २६ वटा शाखा कार्यालयबाट करिब नौ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।