काठमाडौं । चांगान ग्रुपले सन् २०३० सम्म विश्वका शीर्ष १० कार कम्पनीको सुचिमा स्थान बनाउने र आरएमबी ६०० अर्ब राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको छ ।
‘१+४+४+५’ फ्रेमवर्क नाम दिइएको उक्त योजना हालै चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा सार्वजनिक गरिएको हो । यस रणनीतिको पछाडि आन्तरिक रूपमा विकास गरिएको सशक्त प्रविधिमा आधारित विश्वस्तरीय अटोमोबाइल कम्पनी निर्माण गर्ने एक स्पष्ट लक्ष्य रहेको छ । यस लक्ष्य हासिल गर्न चांगानले चार प्रमुख व्यवसायिक क्षेत्रहरू, सवारीसाधन, कम्पोनेन्ट, सेवा र नयाँ पुस्ताका उद्योगहरूमा ध्यान केन्द्रित गर्नेछ । साथै, कम्पनी स्मार्ट, ग्रीन, ग्लोबल र थप कनेक्टेड बन्ने दिशामा चार प्रमुख रूपान्तरणतर्फ अघि बढ्नेछ । कम्पनीले २०३० सम्म पाँच प्रमुख सूचकहरू दोब्बर बनाउने लक्ष्य पनि राखेको छ, यसमा विद्युतीय सवारीको बिक्री, विदेश निर्यात, कुल आम्दानी, नाफा र ब्रान्ड भ्यालु समावेश छन् ।
चांगानका अध्यक्ष झु हुआरोङले कम्पनी परिवर्तन र अवसरले भरिएको नयाँ युगमा प्रवेश गरिरहेको उल्लेख गर्दै उद्योगका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उक्त रणनीतिले कम्पनीले हासिल गर्ने छवटा प्रमुख छलाङहरू पनि निर्धारण गरेको छ । यसमा स्मार्ट सवारीको विकास, स्वच्छ पावरट्रेन, बिक्रीको दायरामा विस्तार, सुदृढ व्यवसायिक इकोसिस्टम, प्रभावकारी ग्लोबल व्यवस्थापन र समग्र कम्पनीको भ्यालुको अभिवृद्धि रहेका छन् । ग्लोबल स्टेजमा चांगानले तीन प्रमुख योजनामार्फत आफ्नो विस्तारलाई तीव्रता दिइरहेको जनाएको छ । ग्रीन प्लानअन्तर्गत विद्युतीय सवारी प्रविधि सुदृढ बनाउने र सवारीको सम्पूर्ण जीवनचक्रमा कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको छ । इन्टेलिजेन्ट प्लान सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्न केन्द्रित छ भने भास्ट ओसियन प्लान अन्तर्राष्ट्रिय बजारमा कम्पनीको सशक्त उपस्थिति विस्तार गर्ने उद्देश्यले अघि बढाइएको हो, । यसले निर्यात मात्र गर्नुभन्दा पनि विश्वभर ब्रान्ड र सञ्चालन स्थापित गर्ने लक्ष्य राखेको छ ।
सन् २०२६ मार्चसम्म कम्पनीले पहिलो पटक एक महिनामा एक लाखभन्दा बढी सवारीसाधनहरू विदेशमा बिक्री गरिसकेको छ । कम्पनीले सशक्त आधारसहित यो नयाँ चरणमा प्रवेश गरेको उल्लेख गरेको छ । सन् २०२५ मा चाङ्गानले २ दशमलब ९१३ मिलियन सवारीसाधन बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ८ दशमलब ५ प्रतिशतले वृद्धि हो । यसमध्ये ११ लाखभन्दा बढी विद्युतीय सवारी रहेका छन् । हाल कम्पनी १ सय १८ देशमा १ हजार १ सय भन्दा बढी आउटलेटमार्फत सक्रिय रहेको कम्पनीले जनाएको छ । कम्पनीको चीन बाहिर २२ वटा कारखाना सञ्चालनमा छन् । विश्वभर २४ हजार सदस्य भएको रिसर्च टोलीले करिब २१ हजार पेटेन्टहरू दर्ता गरिसकेको कम्पनीले जनाएको छ ।