काठमाडौँ , युएईका कप्तान मोहम्मद वसीमलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। कीर्तिपुरमा नेपालविरुद्ध भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलपछि अम्पायरिङ पक्षपाती भएको टिप्पणी गरेपछि उनी आईसीसीको आर्टिकल २।७ अन्तर्गत दोषी ठहर भएका हुन्। उक्त प्रावधानले अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित घटनामा सार्वजनिक आलोचना वा अनुपयुक्त टिप्पणी गर्न निषेध गर्छ। मैदानका अम्पायर बुद्धि प्रधान र विनय कुमारसहित तेस्रो अम्पायर दुर्गा सुवेदी तथा चौथो अम्पायर सञ्जय सिग्देलले वसीममाथि आरोप लगाएका थिए। जरिवानासँगै उनको अनुशासनात्मक रेकर्डमा १ डिमेरिट अंक पनि थपिएको छ, जुन पछिल्ला २४ महिनामा उनको पहिलो कसुर हो। यसैबीच, पहिलो खेल ६ विकेटले जितेको ग्ब्भ् दोस्रो खेलमा भने नेपालसँग ८ विकेटले पराजित भएको थियो।