काठमाडौँ , नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई नेपाल प्रहरीको (सीआईबी) ले पक्राउ गरेको छ। बिहीबार काठमाडौंको नक्सालबाट उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा नियन्त्रणमा लिइएको हो। सीआईबीले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिएको जनाएको छ। हाल उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। ५९ वर्षीय गोल्छा हिमालयन रि–इन्स्योरेन्सका निवर्तमान अध्यक्ष समेत हुन्। (नेपाल धितोपत्र बोर्ड) को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीमाथि धितोपत्र सम्बन्धी ऐन उल्लङ्घन गरेको आरोप लागेको हो। यस प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दिपक भट्टसँग सम्बन्धित गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि जोडिएको बताइएको छ। प्रारम्भिक जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनले भट्टलाई गैरकानूनी गतिविधिमा सहयोग गर्ने व्यक्ति तथा संस्थाका रूपमा गोल्छासहित हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, हिमालयन क्यापसर्भ, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र रोहित गुप्तालाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।