हिमालयन रि–इन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिव कुमार श्रेष्ठले ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ अन्तर्गतको कसुरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छालाई नक्सालबाट पक्राउ गरेको जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा काठमाडौं जिल्ला नागार्जुन न.पा. वडा नं.८ बस्ने ५९ वर्षीय प्रतिवादी गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा ऐ ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ यस ब्युरोमा प्राप्त हुन आएको थियो । सोही आधारमा बिहीबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई काठमाडौंको नक्सालबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गोल्छाउपर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।