काठमाडौं । आयात निर्यात (ट्रस्ट रिसिट) क्षेत्रमा बैंकहरूले दिने कर्जा रकम बढेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले आयात निर्यात शीर्षकमा मात्र एक खर्ब ५४ अर्ब २८ करोड ७० लाख रुपैयाँ कर्जा बाँडेका हुन् । उक्त अवधिमा बैंक वित्तले कुल ७७ खर्ब ८० अर्ब १५ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ खर्ब चार अर्ब ४० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । आयात निर्यात शीर्षकमा प्रवाह भएको उक्त कर्जा रकम गत आवको सोही अवधिको तुलनामा २३ अर्ब २९ करोड ४० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा उनीहरूले आयात निर्यातका लागि मात्र कुल एक खर्ब ३० अर्ब ९९ करोड ३० लाख रुपैयाँ कर्जा दिएका थिए । सो वर्ष कुल ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैैयाँ कर्जा प्रवाह भएको थियो । वाणिज्य बैंकहरूले मात्र फागुनसम्म आयात निर्यात क्षेत्रमा एक खर्ब ५४ अर्ब २८ करोड ६० लाख रुपैयाँ कर्जा दिएका छन् । यो अवधिमा उनीहरूले ७० खर्ब १६ अर्ब २३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ६१ अर्ब ४३ करोड ३० लाख कर्जा प्रवाह गरेको देखिएको छ । बैंकहरूले दिएको यो कर्जा गत आवको सोही अवधिको तुलनामा २३ अर्ब २९ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ४० अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा आयात निर्यातमा एक खर्ब ३० अर्ब ९९ करोड ३० लाख रुपैयाँ कर्जा दिएका थिए ।
त्यसैगरी विकास बैंकहरूले फागुनसम्म आयात निर्यातमा मात्र १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कुल छ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३८ अर्ब ६७ करोड १० लाख कर्जा प्रवाह गरेका थिए । गत आवको सोही अवधिमा भने विकास बैंकहरूले आयात निर्यातमा शीर्षकमा प्रवाह गरेको कर्जा रकम शून्य रहेको थियो । यो अवधिमा उनीहरूले छ खर्ब २० करोड पाँच लाख २० हजार रुपैैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फाइनान्स कम्पनीहरूले पनि चालू आवको फागुन मसान्तसम्ममा कुल एक खर्ब ३७ अर्ब १५ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ३० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा आयात निर्यातमा मात्र प्रवाह गरेको कर्जा रकम शून्य रहेको छ । गत आवको सोही अवधिमा पनि फाइनान्स कम्पनीहरूले कुल एक खर्ब २६ अर्ब ५० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा आयात निर्यातमा प्रवाह गरेको कर्जा रकम शून्य नै रहेको थियो ।