काठमाडौँ । सरकारले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेर फेरि स्थगित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १७ गते दुवै संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसको आधारमा बुधबार राष्ट्रपति पौडेलले संसद् बैठक आह्वान गरेका थिए । तर सरकारको अपरिपक्वताका कारण एक दिनमा नै निर्णय सच्याउनु परेको छ । मन्त्रिपरिषद्को सिफारिसबमोजिम विशेष कारणवश दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सरकार र संघीय संसद् सचिवालयबीच समन्वय नुहँदा सरकारले संसद् अधिवेशन स्थगित गर्नुपरेको बताइएको छ । बैठक स्थगित भएपछि सचिवालयले सभा बस्ने स्थानलाई व्यवस्थापन गरिरहेको छ । बैठकको लागि पूरा तयारी गर्न समय नपुग्ने भएपछि बैठक स्थगित गर्नुपरेको जनाइएको छ ।