काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही वैशाख २१ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् आठ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरको कुल आठ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा १० प्रतिशतले हुने ८५ लाख रुपैयाँ बराबरको ८५ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा निष्कासन गर्न लागिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यो साधारण सेयरमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम पाँच हजार कित्तासम्म माग गर्न सक्नेछन् । आवेदन वैशाख २१ गतेदेखि वैशाख २४ गते बैंकिङ समयभित्र दिइसक्नुपर्ने छ । कम्पनीको साधारण सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।