काठमाडौं । डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एमबीएल आईटी कर्जा नामक नयाँ कर्जा योजना अगाडि सारेको छ ।
सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्यसहित सुरुवात गरिएको यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ । साथै, यस कर्जाले नेपालका आईटी/सफ्टवेयर कम्पनीहरूलाई चालु पुँजी, पूर्वाधार तथा सञ्चालन विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने योजना राखेको छ ।
यस योजनाअन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य हुनेछन् । यसमा आईटी÷सफ्टवेयर फर्म (एकल वा साझेदारी), प्राइभेट लिमिटेड कम्पनीहरू पदर्छन् र यस्ता कम्पनीहरूले प्यान, भ्याट जस्ता कर नियमित रूपमा तिरेको हुनुपर्ने छ । यस्ता कम्पनीहरू सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, एआई, मेसिन लर्निङ जस्ता क्षेत्रमा काम गर्ने हुनुपर्ने छ र कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने छ ।