काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर विवादको केन्द्रमा तानिएका छन्। आफ्नै श्रीमतिको संकास्पद शेयर कारोबार बिचौलियासँग जोडिएको खुलासा भएपछि उनलाई मन्त्रालयमा फिर्ता बोलाइएको हो।
स्रोतका अनुसार ठाकुरकी श्रीमती राखी निहारिका ठाकुरको नाममा हिमालयन रि कम्पनीमा २० हजार कित्ता शेयर रहेको भेटिएको छ। विडम्बना के भने, यही कम्पनीका सञ्चालकहरूमाथि अहिले सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ। यस्तो अवस्थामा आफ्नै परिवार संलग्न कम्पनीमाथि निष्पक्ष छानबिन गर्न नसकिने प्रश्न उठेपछि सरकारलाई हस्तक्षेप गर्नुपरेको हो।
ठाकुर यसअघि पनि २०७८ सालमा सोही विभागको नेतृत्वमा थिए। त्यतिबेला हिमालयन रि ले अनुमति पाउँदा उनी विभाग प्रमुख नै रहेको तथ्यले थप शंका जन्माएको छ। यसले नियामक निकायभित्रै ‘हितको द्वन्द्व’ (conflict of interest) गम्भीर रूपमा रहेको संकेत गरेको छ।
यो प्रकरण केवल एक व्यक्तिमा सीमित छैन। उच्च पदस्थ कर्मचारीहरू समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सोही कम्पनीमा लगानीकर्ता रहेको खुलेको छ—कसैले आफ्नै नाममा, त कसैले परिवारका सदस्यमार्फत शेयर खरिद गरेका छन्।
उता, सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानको दायरा फराकिलो बन्दै गएको छ। चैत १९ मा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट प्रकरणपछि शंकर ग्रुपका शंकरलाल अग्रवाल र सुलभ अग्रवाल समेत अनुसन्धानको घेरामा परेका छन्।
अनुसन्धान अघि बढ्दै जाँदा नेपालको पुँजी बजारमा प्रभाव जमाएका अन्य व्यवसायी र शक्ति केन्द्रहरूसमेत राडारमा पर्न थालेका छन्।