काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले काठमाडौँका नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई बल प्रयोग नगरी मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।फेसबुकमा सार्वजनिक गरिएको स्टाटसमा उनले हरेक वर्ष बाढीका कारण काठमाडौँका खोला किनारका हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै सक्ने अवस्था आउने गरेको उल्लेख गर्दै यो वर्षौँदेखिको दोहोरिने समस्या भएको बताएका छन्।
प्रधानमन्त्री शाहले अब यो समस्या अर्को वर्षका लागि थाती राख्न नहुने भन्दै सुरक्षित बसोबासको व्यवस्था गर्नु राज्यको जिम्मेवारी भएको स्पष्ट पारेका छन्। उनले जोखिमयुक्त स्थानमा बसोबास गर्दा नागरिकको जीवनसँग खेलबाड हुने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।
उनका अनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका खोला किनारमा रहेका बस्तीका कारण बाढीको जोखिमसँगै ढल निकास प्रणाली अवरुद्ध भई उपत्यकामा फोहोर र प्रदूषण बढ्ने समस्या देखिएको छ। त्यसैले यी बस्तीलाई मानवीयताका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले जनाएका छन्।
प्रधानमन्त्री शाहले देशभरका वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर समस्या समाधान गर्ने र प्रक्रिया पूरा गरी वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत दोहोर्याएका छन्।उनले यो समस्याको दीर्घकालीन समाधान वर्तमान सरकारले गर्ने दाबी गर्दै नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्।