काठमाडौँ, सिन्धुलीमा प्रहरी हिरासतमा मृत्यु भएका एक दलित युवाको घटनाबारे छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ। नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्।
समितिमा प्रहरी प्रधान कार्यालय युएन शाखाका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक (सई) राजेश्वर सापकोटा सदस्य रहेका छन्।
आईजीपी कार्कीले समितिलाई ७ दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्। प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका दलबहादुर विकका २३ वर्षीय छोरा श्रीकृष्ण विक जवरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थिए। सोही क्रममा वैशाख ७ गते हिरासत कक्षको शौचालयमा आफ्नै सर्ट प्रयोग गरी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ। उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ।
तर, मृतकका आफन्त, अधिकारकर्मी तथा केही जनप्रतिनिधि र सांसदहरूले घटनाबारे शंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै विरोध र दबाबका कार्यक्रमसमेत गरिरहेका छन्।
