नेपाल स्टक एक्सचेन्ज लिमिटेडले यही वैशाख ९ गते बुक बिडिङमार्फत सेयर निष्काशन गर्ने कम्पनीको अद्यावधिक सूची सार्वजनिक ग¥यो । उक्त दिन नेप्सेले बुक बिडिङ निर्देशिकाबमोजिम सेयर निष्काशनका लागि नेप्सेसँग सम्झौता गर्ने सातवटा कम्पनीहरूको सूची सार्वजनिक गरेको थियो । सो प्रसङ्गमा नेप्सेका भनेको थियो, ‘यसअघि सार्वजनिक गरिएका पाँचवटा कम्पनीहरूको सूचीलाई अद्यावधिक गर्दै थप दुई कम्पनी समावेश गरी नयाँ सातवटा कम्पनीहरूको नामावली सार्वजनिक गरिएको हो । यसरी सूचीकृत हुने कम्पनीहरूमा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड थपिएका छन् । यसअघि यस्तो सूचीमा नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेड रहेका थिए । यी सबै कम्पनीहरूले बुक बिडिङ विधिमार्फत सेयर निष्काशन प्रक्रिया अगाडि बढाउन सहकार्य गरेको नेप्सेको भनाइ छ । यस विधिअनुसार योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको मूल्य निर्धारण गर्न सिलबन्दी बोलपत्र (बिडिङ) प्रक्रिया सञ्चालन गरिन्छ । बुक बिडिङ प्रणालीमा ठूला संस्थागत लगानीकर्ताहरूले प्रारम्भिक रूपमा सेयरको मूल्य प्रस्ताव गर्ने व्यवस्था हुन्छ । ती प्रस्तावहरूको आधारमा अन्तिम सेयर मूल्य तय गरिने भएकाले बजार–आधारित मूल्य निर्धारण हुने अपेक्षा नेप्सेले गरेको छ ।
तर नेप्सेका यो भनाइमा लगानीकर्ताहरू भने सहमत हुन सकेका छैन । बुक बिडिङमा लागि जसरी अनुमति दिइयो यो हचुवाको भरमा स्वार्थ प्रेरित ढंगले दिएको हो, ती कम्पनीहरू बुक बिडिङको लागि अनुमति पाउन योग्य छैनन्, सेयर लगानीकर्ता प्रकाश रजौरे भन्छन् । ‘अहिलेसम्म यी कुनै पनि कम्पनीहरूको वित्तीय विवरण लगानीकर्ताहरूले हेर्न पाएका छैनन्, वित्तीय अवस्था कस्तो छ, केही थाहा छैन, यस्तो अवस्थामा हचुवाको भरमा नेप्सेले कुनै अमुक व्यक्तिको स्वार्थबाट प्रेरित भएर बुक बिडिङको लागि अनुमति दिन्छ, भने त्यो हामी आमलगानीकर्ताहरूको लागि मान्य हुँदैन’, लगानीकर्ता रजौरे भन्छन्, ‘हिजोको दिनमा बुक बिडिङको लागि अनुमति पाएर सेयर निष्काशन गरेको रिलायन्स स्पीनिङ मिल्सको हालत त्यस्तो छ, सबैतिर उक्त कम्पनीको विरुद्ध मुद्दा विचाराधीन अवस्थामा छ । बुक बिडिङमार्फत पहिलो पटक सेयर निष्काशन गरेको सर्वोत्तम सिमेन्टको अवस्था पनि फरक हुन सकेको छैन । यो अवस्थामा अध्ययन अनुसन्धानविना नै नेप्सेले कुनै नाम मात्रको कम्पनीलाई बुक बिडिङको लागि अनुमति दिन्छ, भने यसलाई कसरी न्यायोचित भन्ने ?, जसले जे भने पनि नेपालको धितोपत्र बजार भनेको सीमित बिचौलियाले चलाएका छन्, त्यसको पुष्टि र बुक बिडिङको नयाँ अनुमतिले पनि छर्लङ्ग पारेको छ ।’
सेयर लगानीकर्ता रजौरेले यसो भनिरहँदा नेपाल धितोपत्र बोर्डका पूर्वनिर्देशक निरज गिरी भने यसमा सहमत छैनन् । बुक बिडिङको लागि धितोपत्र बोर्डले विभिन्न क्राइट एरियाहरू तोकेर नेप्सेलाई अनुमति दिएको हुन्छ । सोहीअनुसार नेप्सेले ती सबै क्राइट एरिया मिट गरेका आधारमा प्रारम्भिक रूपमा यी कम्पनीहरू बुक बिडिङको लागि योग्य छन् भने सूची मात्र सार्वजनिक गरेको हुनुपर्छ । यसका धेरै प्रक्रियाहरू बुक बिडरहरूलाई दिने मूल्य, फाइनान्सिङ, रोड सो, प्राइस बाइडिङलगायतका धेरै कुराहरू बाँकी नै रहेका छन्, यो अवस्थामा नेप्सेले खाली हचुवाको भरमा बुक बिडिङको लागि अनुमति दियो भन्नु गलत भएको उनी बताउँछन् । सामान्य अवस्थामा पब्लिक कम्पनी भएकाले उसको ब्यालेन्स सिटहरू पनि होलान्, कम्पनीमा सेयरधनीहरू होलान्, सबै कुरा आइहाल्छ नि अहिले नै अनुमति पाउने यी कम्पनीहरू अयोग्य हुन भन्न मिल्दैन, अहिले त खाली एउटा सूची मात्र सार्वजनिक भएको हो’, उनी भन्छन् ।