काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ ।
प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न लागेको छ । प्राधिकरणको २०८२ कात्तिक १९ को बैठकबाट सौर्य विद्युत् आयोजनाको बिजुली खरिद बिक्रीको सम्झौता गर्ने निर्णय गरेको थियो । स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनाको प्रतियुनिट चार रुपैयाँ ९९ कायम गरिएको छ । त्यस्ता आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्री सम्झौता चालु आवको अन्त्यसम्म सम्पन्न गरिसक्ने निर्णय यसअघि नै भएको छ । प्राधिकरणको यही वैशाख २ गतेको निर्णयअनुसार, यसै महिनाको अन्तिमसम्म आवश्यक कागजातसहितको निवेदन दिन आग्रह गरेको हो । आयोजनालाई प्राधिकरणको ३३÷११ केभी क्षमताको ग्रीड वा वितरण सवस्टेसनमा जडान गरिनेछ । प्रवद्र्धकले अनुुरोध गरेमा प्राधिकरणको ११ केभी वितरण लाइनमा आवश्यक व्यवस्थासहित जडान गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विद्युत् खरिद सम्झौताका लागि निवेदन, कम्पनी दर्ताको प्रमाणपत्र, स्थानीय तहको कम्तीमा पनि ५१ प्रतिशत सेयर रहेको अद्यावधिक सेयर लगत विवरण, सञ्चालकको लगतसहितको विवरण पेश गर्नुपर्ने छ ।