दोलखा । २०७२ साल वैशाख १२ गते शनिबारको दिन बिहान ११ः५६ बजेको समयमा नेपालमा शक्तिशाली ७ दशमवल ६ रेक्टर स्केलको भुकम्प गएको एक दशक पूरा भएको छ । सो भुकम्पले दोलखासहित १८ जिल्लाका नागरिकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको थियो । अर्बौंका आर्थिक क्षतिसंगै १० हजार बढी नेपालीले ज्यान गुमाएका थिए भने सयौं नागरिक घाइते भए । यस्तै लाखौं निजि घर तथा सरकारी भौतिक संरचना ध्वस्त बने । दोलखामा पनि भुकम्पले झण्डै ६० हजार निजी आवास ध्वस्त पारेको थियो भने एक सय भन्दा बढीको गएको थियो ।
भुकम्प गएको एक दशक बित्दा सकाराले अर्बौं खर्च गरेर पुनर्निर्माण करिब अन्तिम चरणमा पुर्याएको छ । भुकम्पले थलिएको भौतिक पुर्वाधार क्षेत्रको पुनर्निर्माण सम्पन्न हुँदा गाउँमा निकै परिवर्तन भएको देखिन्छ । हरेक नागरिकले पुनर्निर्माणको काम सकेका छन् । विद्यालय तथा अस्पतालको केही बाहेक निजी आवास निर्माणको काम सकिएको छ । भुकम्पपछि निजी आवास निर्माणको काम सकिए पनि ती घरमा बस्ने मान्छे भने छैनन् । अधिकांश मानिसहरू सहर केन्द्रित बनेका छन् । जिल्लाको शैलुङ गाउँपालिका–१ ताम्चेत दुधपोखरी र २ भुषाफेदा सुनसान छ । भुकम्पपछि राज्यको ३ लाख रुपैयाँ अनुदान दिएर निर्माण गरिएका सयौं घर हिजोआज खाली छन् । राहत प्राप्तिका लागि सहर छोडेर गाउँ छिरेका स्थानीय राहतका घर निर्माण गरेपछि घरमा ताल्चा झुन्डाएर सहर छिरेका हुन् ।
यहाँका दुई गाउँमा औसत ६५ प्रतिशत घर रित्तै देखिन्छन । शैलुङ–२ भुषाफेदास्थित घट्टेखोलाकी स्थानीय कालिका तामाङले गाउँमा मान्छेहरू नबस्ने गरेको बताइन् । वर्षमा एक–दुईपटक केही चाडपर्व मनाउन मात्रै गाउँ आउने गरेको उनको भनाइ छ । गाउँमा मानिसहरू रित्तिदै गएपछि खेतीयोग्य जमिन बाँझो छ । भुकम्प अघि गाउँमा विकास खासै थिएन । सदरमुकाम जानसमेत हिडेर जानुपर्ने बाध्यता थियोे । त्यसबेला गाउँमा मान्छेको बसोबास बाक्लो थियो । तर अहिले गाउँमा थरीथरीका विकास आए । स्वास्थ्य पहुँच, शिक्षा, खानेपानी विद्युत्, सडक सबैको राम्रो सुविधा हुँदा पनि धेरैले गाउँ छाडेर सहर पसेका छन् । उनले भनिन्, ‘भुकम्पपछि अनुदानको घर त सबैले बनाएका छन् तर मानिसको बसोबास चाँहि सहरमा छ ।’
भुकम्पपछि गाउँमा राम्रा–राम्रा विद्यालय बनेका छन् भने सुविधासम्पन्न स्वास्थ्य चौकी, एक घर एक धारा, सडक विस्तार सबै भएको मालिघ्याङ गाउँका स्थानीय सोमबहादुर श्रेष्ठले बताए । युवा पुस्ताले गाउँ छाडेर सहर बस्दा अहिले गाउँमा कोही बिरामी पर्दा हेर्ने र मृत्यु हुँदा मलामी जाने मान्छेको समेत अभाव हुने गरेको उनले गुनासो गरे । ‘गाउँमा वृद्ध– वृद्धामात्र छन् । गाउँका युवायुवतीहरू कोही विदेशमा गए, कोही बालबच्चा पढाउन भन्दै काठमाडौं छिरे । भुकम्पताका गाउँमा मान्छेको उपस्थिति बाक्लो थियो । गाउँका खेतबारी बझो राख्नु परेको थिएन । तर अहिले मान्छेको अभाव हुँदा गाउँका खेतबारी बाझो बस्न थालेका छन्’, उनले भने । आलु खेतीको लागि उर्वर ठाउँमा अहिले झाडीमा परिणत भएको छ । यसले बसेका मान्छेमा समेत जंगली जनावरको आतंकले सताउने गरेको श्रेष्ठ बताउँछन् ।
दोलखामा वैशाख १२/१३ र २९ गतेको भुकम्पपछि बनेका ७० हजार घरमध्ये करिब ३५ हजार घरमा मान्छे बस्ने गरेका छैनन् । नौ स्थानिय तह रहेको दोलखामा ७३ हजार ४ सय ६८ लाभग्राही मध्ये करिब ७० हजार भुकम्प पीडितले अनुदान सम्झौता गरेर घर निर्माण गरेको थिए । अनुदानको लोभमा घर बनाएपनि ती घरहरू प्रयोगविहीन बनेका छन् । यसले राज्यको सम्पत्तिमा समेत ठूलो क्षति पुगेको देखिन्छ ।