काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकको बैंकिङ गोपनीयता भंग गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै हालै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएको सूचनालाई आधारहीन, भ्रामक र प्रमाणविहीन भएको जनाएको छ ।
बैंकले विज्ञप्ति जारी गर्दै यस्तो दुष्प्रचारले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास भएको उल्लेख गरेको छ । एक सञ्चार माध्यममा प्रकाशित ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू’ शीर्षकको समाचारमा अनुसन्धानरत निकायबाट प्राप्त विवरणका आधारमा कारोबारसम्बन्धी तथ्य सार्वजनिक गरिएको स्पष्ट उल्लेख रहेको बैंकले जनाएको छ । उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कारोबार विवरण समावेश भएको तथ्यलाई बेवास्ता गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत नबिल बैंकलाई लक्षित गरी नियोजित रूपमा दुष्प्रचार गरेको बैंकको भनाइ छ ।
बैंकका अनुसार ग्राहकको कुनै पनि व्यक्तिगत वा कारोबारसम्बन्धी जानकारी ग्राहक स्वयं, अधिकृत प्रतिनिधि वा कानुनी प्रक्रिया अनुसार नियामक तथा अनुसन्धानकारी निकायले मागेको अवस्थामा बाहेक अन्य कुनै व्यक्ति वा संस्थालाई उपलब्ध गराउन मिल्दैन । ‘बैंकले यस्तो जानकारी न त दिएको छ, न त दिन सक्छ,’ विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, बैंकको कोर बैंकिङ प्रणालीमा ग्राहकसम्बन्धी कुनै पनि विवरण कसले, कहिले र कुन प्रयोजनका लागि हेरेको वा निकालेको हो भन्ने सम्पूर्ण अभिलेख सुरक्षित रूपमा रहने व्यवस्था रहेको पनि बैंकले स्पष्ट पारेको छ ।
नबिल बैंकले आफू चार दशकभन्दा बढी समयदेखि विश्वसनीय सेवा दिँदै आएको जिम्मेवार ‘क’ वर्गको वाणिज्य बैंक भएको उल्लेख गर्दै प्रचलित कानुन, नियमन तथा आन्तरिक नीतिअनुसार ग्राहक गोपनीयता कायम गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । बैंकले बैंकिङ गोपनीयता र ग्राहक सूचनाको संरक्षणलाई आधारभूत नैतिकता र अनुपालनको विषय मान्दै उच्चतम मापदण्ड अपनाउँदै आएको पनि बताएको छ ।