काठमाडौं । स्थानीय परिकार प्रहिचान र प्रवर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्चालन रहनेछ । सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा स्ट्रीट फुडदेखि पाँचतारे होटलस्तरीय विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए ।
साथै, स्थानीय स्वादिष्ट खाना, परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थ, कला–संस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि संचालन गरिएका छन् । महोत्सवमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले करिब ४० वटा स्टलहरु राखेका छन् ।