काठमाडौं । मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा छायाँनाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद)मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन जेठ ३ गते छायाँनाथ ट्रेल अल्ट्रा रेस आयोजना गर्न लागिएको हो ।
बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गरी कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोद्स फाउन्डेसनको सहकार्यमा ‘छायाँनाथ अल्ट्रा रेस’ आयोजना लागेको जानकारी दिइएको थियो । रारा, छायाँनाथ धामसहित मुगुका पर्यटकीय क्षेत्रको समग्र पर्यटन विकास, पूर्वाधार विस्तार र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले अल्ट्रा रेस आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष छिरिङ क्याप्रे लामाले पर्यटनलाई स्थानीय आर्थिक विकासको मुख्य आधारका रूपमा अघि बढाइने बताए । ‘मुगु केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र होइन, यो नेपालको पर्यटन सम्भावनाको प्रतीक पनि हो । यसलाई दिगो र व्यवस्थित रूपमा विकास गर्न हामी प्रतिबद्ध छौँ’, उनले भने । नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले मुगुम कार्मारोडलाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने अभियानले पर्यटन प्रबर्द्धनका साथै स्थानीय अर्थतन्त्रमा पनि योगदान पुग्ने बताए । उनले भने, ‘यो निकै चुनौतीपूर्ण खेल गतिविधि भएकोले सावधानी अपनाउँदै सम्पूर्ण सरोकारवाला निकाय गम्भीर भएर सहयोग गर्नुपर्ने देखिन्छ ।’
यो रेस समुद्री सतहबाट २५५० मिटरबाट सुरु भई छायाँनाथ ४८२० मीको अल्टिच्युडसम्म करिब ३० किलोमिटरको रेस हुनेछ । यस प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यस प्रतियोगितामा मुगु जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्टै विधा र सबैको सहभागितालाई प्रोत्साहन गर्न ५ किलोमिटरको ’फन रन’को समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । ३० किलोमिटरको मुख्य विधा (महिला तथा पुरुष)तर्फ प्रथम हुनेलाई दुई लाख रुपैयाँ, दोस्रोलाई एक लाख ५० हजार, तेस्रोलाई एक लाख, चौथोलाई ७५ हजार र पाँचौँलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी, स्थानीयतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।