काठमाडौं । पश्चिम एसिया युद्धका कारण सुरक्षास्थित लिएर चिन्ता बढ्दा नेपालको रेमिट्यान्स आप्रवाहले भने निरन्तरता पाएको छ । अमेरिका, इजरायल र इरानबीच चलेको युद्धका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यसको असर नेपालमा देखिने प्रक्षेपण गरिएको थियो । युद्धका कारण वैदेशिक रोजगारीमा, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासमा भने प्रत्यक्ष असर परेको छ । तर रेमिट्यान्स आप्रवाह भने निरन्तर भइरहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स निरन्तर आइरहेको छ । केन्द्रीय बैंकका अनुसार युद्ध सुरु भएयता हरेक महिना करिब डेढ खर्बदेखि दुई खर्ब रेमिट्यान्स मुलुकमा भित्रिएको छ । चालू आर्थिक वर्षको फागुनसम्म रेमिट्यान्स १४ खर्ब ४६ अर्ब आएको छ । साउनमा एक खर्ब ७७ अर्ब, भदौमा एक खर्ब ७४ अर्ब, असोजमा दुई खर्ब एक अर्ब र कात्तिका एक खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ । मंसिरमा एक खर्ब ८३ अर्ब, पुसमा एक खर्ब ९२ अर्ब, पुसमा एक खर्ब ९८ अर्ब र फागुनमा एक खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
गत असारमा एक खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । इरानले खाडी मुलुकहरूमा आक्रमण गरेपछि नेपाली श्रमिकहरू त्रासमा परेका छन् । इरानले साउदी अरबिया, कतार, सयुक्त अरब इमिरेटस (यूएई), ओमान, बहराइन र कुवेतमा आक्रमण गरेपछि नेपाली श्रमिकहरू त्रासमा बस्नुका साथै काम समेत गर्न सकेका थिएनन् । दुबाईस्थित अल जदाफ रोटानामा कार्यरत परमेश्वर थापाले युद्धको समयमा आफूहरू कार्यालय जान नसकेको बताए । विगत सात वर्षदेखि दुबाईमा काम गर्दै आएका थापाले आफू र आफ्ना साथीहरू युद्धका कारण कार्यालय जान नसकेको बताए । यसरी दर्जनौँ नेपालीहरू प्रभावित भएको समेत उनको भनाइ छ ।
त्यस्तै चालू आवको फागुनसम्म रेमिट्यान्स आप्रवाह ३७ दशमलव सात प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनमा रेमिट्यान्स आप्रवाह नौ दशमलव पाँच प्रतिशतले बढी हो । गत आवको फागुनसम्म रेमिट्यान्स आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड रहेको थियो । अघिल्लो वर्षको फागुनमा रेमिट्यान्स आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रहेको थियो । रेमिट्यान्स आप्रवाहमा विनिमय दरको प्रभाव भने निरन्तर पर्ने भए पनि युद्धका असर भने क्षणिक हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
हालसम्म रेमिट्यान्स आप्रवाहमा असर खासै ठूलो नदेखिए पनि नेपाली श्रमिकले द्वन्द्वरत मुुलुकमा काम गर्न भने नसकेको यथार्थ हुँदा त्यसको असर कुनै न कुनै समय देखिने प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिए । ‘ठूलो संख्यामा नेपाली श्रमिकहरू खाडी मुलुकमा कार्यरत रहेका छन् । उनीहरूले युद्धको समयमा काम गर्न नपाउँदा त्यसको असर रेमिट्यान्समा देखिन सक्छ’, उनले आर्थिक दैनिकसँग भने ।
जुन १३ (जेठ २९) देखि इजरायल र इरान बीच युद्ध सुरु भएको हो । युद्ध सुरु भएको १० महिना भइसकेको छ । यो बीचमा कहिले युद्धविराम त कहिले पुनः युद्ध भएको छ । युद्धका कारण नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति तथा सरकारले श्रम स्वीकृति नवीकरणमा समेत रोक लगाएको थियो । युद्धका कारण देखाउँदै सरकारले तीन महिनाअघि खाडी मुलुकमा श्रम स्वीकृति रोकेको थियो । युद्धलाई नजिकबाट अध्ययन गरी श्रम स्वीकृति खोल्ने र बन्द गर्ने निर्णय गरेको सरकारले पछिल्लो समय खाडी मुलुकका लागि श्रम स्वीकृति खुला गरेको हो ।
५ हजार बढीले लिए श्रम स्वीकृति
वैशाख ७ गतेदेखि श्रम स्वीकृति खाडी मुलुकका लागि खुला गरेको हो । खाडी मुलुकमा श्रम स्वीकृति खुला गरेसँगै पाँच हजार जनाभन्दा बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । युद्धका कारण श्रमिक कामका लागि विदेश जान नपाएसँगै त्यसको प्रत्यक्ष असर रेमिट्यान्समा देखिन्छ । त्यसैले गर्दा युद्धका कारण रेमिट्यान्समा देखिने जोखिम भने यथावत् रहेको जानकार बताउँछन् । पछिल्लो समय युद्धविराम तथा युद्ध मत्थर भएजस्तो देखिएको छ उक्त अवस्था कहिलेसम्म हुने हो वा युद्ध समाप्त भएमा मात्र श्रम स्वीकृति लिने र रेमिट्यान्स आउने अवस्थामा सामान्य अवस्थामा जस्तो हुन सक्ने जानकार बताउँछन् । युद्धले पुनः ठूलो रूप लिएमा रेमिट्यान्स आप्रवाह जोखिम हुँदै जाने उनीहरूको भनाइ छ ।