राजनीतिक दलहरूले चुनावका बेला जे–जस्ता घाषेणा गर्छन् । तिनले चुनाव जित्ने आधार पनि तिनै हुन् । यसैकारण निर्वाचनमा भागलिने जुनसुकै दलले त्यसबेला मतदातालाई प्रभावित पार्न आफ्नो घोषणापत्रमार्फत र चुनावी सभाहरूमा सम्बन्धित दलका शीर्ष नेताहरूले देशैभरी पुगेर आफ्ना वाचामार्फत आफू र आफ्ना उम्मेदवारहरूलाई जिताउन र आफ्ना वचनबद्धता अनुसारका कुरा पूरा गर्न अवसर माग्छ । त्यस्तो अवसर भनेको सरकार नै हो । तर विगतले के देखाएका छन् भने, निर्वाचनका समय बोलिएका कुरालाई चुनावी कुरा भनेर पन्छाउने गरिँदै आइएको छ । जसले गर्दा चुनावी वाचाहरूलाई पत्याउँनै छाडिएको अवस्था प्रकट हँुदै गएको थियो भने यता जनतामा निराशा पनि बढ्दै गइरहेको थियो । दुई महिनाअघि प्रतिनिधिसभाको चुनावमा आफूलाई नयाँ भनेर चिनाउने दलले अवदेखि त्यस्तो कहिल्यै नहुने भनेर वाचाहरू नै गर्यो । त्यसलाई मतदाताले पत्याए पनि । रास्वपाले ल्याएको दुईतिहाइ मत त्यसको उदाहरण हुनुपर्छ । अरुदल जो पुराना थिए, उनीहरू पटकपटक परीक्षण भएको अवस्था थियो । जसले यो चुनावमा उनका वाचा पत्याइएनन् । नयाँ दलले यस रूपको चुनाव परिणाम आफ्नो पक्षमा पार्ने एउटा प्रमुख कारण यही वाचालाई मानिएको थियो ।
यो दलको बलियो सरकारले आफ्नो कार्यकालको महिना दिन पुग्दानपुग्दै आफैंले बोलेका वाचामा प्रहार भइरहेका दृश्यहरू प्रकट भए । यसको पछिल्लो उदाहरण सुकुम्बासी बस्तीमा अपर्झट चलाइएको डोजर भएको छ । निश्चय नै सुकुम्बासीका नाममा जग्गा हडपेर विकास गरिएका बस्तीलाई व्यवस्थापन गनुपर्ने थियो तर यो जसरी गरियो त्यो उसको वाचा विपरीत थियो । बस्तीमा ठोजर चलाएर भताभुंग पारिसकेपछि को सही हो र को गलत हो भन्ने टुडिखेलमा राखेर छान्न थाल्नु जस्तो काम कम्तीमा यो दलका नेताले गरेका वाचा विपरीत नै हुन् । आज यसरी डोजर चलाइएका सुकुम्बासीका बारे दुईमहिना अघिको चुनावमा के भनिएको थियो भन्ने हेरियो भने त्यो वाचा शतप्रतिशत नै हुनेगरी तोडिएको देखिने छ । त्यसबेला अर्थात् गएको फागुन ७ गते चुनाव प्रचारका क्रममा रविले अहिलेका प्रधानमन्त्रीलाई साथमा राखेर खासगरी अहिले डोजर चलाइएको सुकुम्बासी बस्तीका बारे भनेका थिए– तागत तपाईंले दिने हो, आँट हामीले गरेका छौँ । विना प्रतिशोध यो देशलाई अगाडि बढाउने छौँ, हाम्रो सरकार आयो भने डोजर लगाउँछ भनेर तपाईंहरूलाई तर्साउने, झुक्याउने काम भएको छ, कोही पनि आत्तिनु पर्दैन । डोजर चल्यो भने सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीले चिन्ता गर्नु पर्दैन । व्यवस्थापन हामी गर्छाैँ, हामी कसैको दुस्मन होइनौँ, यहाँ भूमिहीन साथीहरूको कुरा आएको छ । हामी शक्तिशाली आयोग बनाउँछौँ । त्यो आयोगले आफैँ सत्यतथ्य निकाल्ने छ । त्यो आयोगमा पार्टीका कार्यकर्ता कारिन्दाहरू हुने छैनन् । स्वतन्त्र मानिसहरू हुनेछन्, तिनले दिएको रिपोर्टलाई कार्यान्वयन गर्नेछौँ । रास्वपाले कसैलाई पनि बेघरबार बनाउने काम गर्दैन, कानुनले जे भन्छ हामी त्यही काम गर्छाैँ ।
यो वाचा प्रकट भएको दिनदेखि नै अहिले जहाँ–जहाँ सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ, त्यहाँ रहेका मानिसले आफ्नो घरघरमा रास्वपाको झण्डा राखेका थिए । मूलतः सडकबाटै यी कुरा देखिन्थे । तर यही दलले दुईतिहाइ सिट जितेर सरकार बनाएको महिना दिनमा नै यही बस्तीमा कुनै छानबिन नगरी डोजर चलायो । यो सरकारले चैत्र १३ गते शपथ लिएको हो । वैशाख १२ गते यहीँ ठाउँमा पूरे राज्यशक्ति लगाएर डोजर चलायो । यो सन्दर्भ दलका चुनावमा गरिएका वाचाको कार्यान्वयन भएका कारण यसरी डोजर चलाएर सुकुम्बासी बस्तीलाई यसरी ठीक थियो थिएन भन्ने पक्ष गौण हुन गएको छ । हामी शक्तिशाली आयोग बनाउँछौँ । त्यो आयोगले आफैँ सत्यतथ्य निकाल्ने छ भनिएकोमा त भूमिहीनलाई छान्नेबारे सामान्य अध्यन पनि भएको देखिएन ।