काठमाडौं । हिमालयन बैंक लिमिटेड अब फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) नेटवर्कमा आबद्ध भएको छ । यससँगै नेपालको डिजिटल भुक्तानी प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
फोनपेले शुक्रबार औपचारिक रूपमा हिमालयन बैंकलाई आफ्नो अन्तरसञ्चालन योग्य क्यूआर भुक्तानी नेटवर्कमा समेटिएको घोषणा गरेको हो । यो सहकार्यलाई नेपालको डिजिटल भुक्तानी पूर्वाधार विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा परिचित छ । देशभर फैलिएको शाखा सञ्जाल र बलियो ग्राहक आधार रहेको बैंक अब फोनपे नेटवर्कमा जोडिएपछि लाखौं ग्राहकले सहज रूपमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारका अनुसार हिमालयन बैंकको आबद्धताले डिजिटल भुक्तानी प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्न थप टेवा पुग्नेछ । उनले हिमालयन बैंकले नेपाली ग्राहकहरूसँग निर्माण गरेको विश्वास र फोनपे नेटवर्कका २० लाखभन्दा बढी ग्राहकबीचको संयोजनले नगदरहित अर्थतन्त्रतर्फ अघि बढ्न मद्दत गर्ने बताएका छन् । यस्तै, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले फोनपे नेटवर्कमा आबद्ध हुनु बैंकको डिजिटल नवप्रवर्तनतर्फको स्वाभाविक विस्तार भएको उल्लेख गरे। उनले अब बैंकका ग्राहकहरूले छिटो, सुरक्षित र देशभर स्वीकार्य डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने बताए ।
हाल यो साझेदारी प्राविधिक एकीकरणको चरणमा रहेको छ । एकीकरण प्रक्रिया पूरा भएपछि हिमालयन बैंकका ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध विभिन्न सेवा प्रदायक तथा व्यापारीहरूसँग सहज रूपमा कारोबार गर्न सक्नेछन् । यस सहकार्यले नेपालमा समावेशी, अन्तरसञ्चालनयोग्य र एकीकृत डिजिटल भुक्तानी प्रणाली निर्माण गर्ने प्रयासलाई थप बल पुगेको छ। फोनपेले बैंक, वित्तीय संस्था र व्यापारीलाई एउटै प्लेटफर्ममा जोड्दै डिजिटल अर्थतन्त्र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।