काठमाडौं , सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई संगठनको नेतृत्व दिने निर्णय गरेको हो।हाल सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्। वर्तमान आईजीपी राजु अर्याल भने चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाशमा जाँदैछन्।आईजीपी नियुक्तिमा पौडेल पहिलो दाबेदारका रूपमा रहेका थिए। उनीसँगै एआईजी वंशी दाहाल र एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए।
तर दुवै जना सेवा अवधि र वरियताका आधारमा पौडेलभन्दा जुनियर रहेका कारण अन्ततः पौडेल चयन भएका हुन्।पौडेल १८ चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए। सशस्त्र प्रहरी गठनपछि उनी सो संगठनमा स्थानान्तरण भएका हुन्। उनले १८ असार २०५८ मा कामु डीएसपीको जिम्मेवारी पाएका थिए भने सोही वर्ष १८ चैतमा स्थायी डीएसपी बनेका थिए।त्यसपछि २९ चैत २०६३ मा एसपी, २ जेठ २०७० मा एसएसपी, १३ कात्तिक २०७५ मा डीआईजी र ६ जेठ २०७९ मा एआईजीमा बढुवा हुँदै आएका पौडेल अहिले संगठनको नेतृत्वमा पुगेका हुन्। आईजीपीका रूपमा उनको कार्यकाल १८ चैत २०८४ सम्म रहनेछ। विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा हदका कारण सोही मितिमा उनी अवकाशमा जानेछन्।