काठमाडौं । इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई ईभी क्याब र ई–स्कुटर प्रदान गरेको छ ।
कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुरस्कार हस्तान्तरण गरेको हो । उक्त अभियानमा ड्राइभर्स पार्टनर्सहरूको उत्साहजनक सहभागिता रहेको थियो । सो अभियानमा पेसल बुढाथोकीले टाटा एक्सप्रेस–टी ईभी जिते भने साम्देन तामाङ र सरोज खतिवडाले याडिया भिलक्स हात पारेका थिए । सन् २०२६ मार्च २ देखि मार्च २९ सम्म सञ्चालन गरिएको यस चार हप्ते क्याम्पेन, ड्राइभर्स पार्टनर्सहरूको कार्यसम्पादन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । साप्ताहिक चुनौतीहरू, आकर्षक पुरस्कार तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले इनड्राइभका उत्कृष्ट तथा प्रतिबद्ध ड्राइभर्स पार्टनर्सहरूलाई सम्मान गरेको हो । उक्त विजेताहरू चार हप्ताका चुनौती अवधिभर निरन्तर ‘प्लाटिनम’ स्तर कायम राख्दै सबै योग्यता मापदण्ड पूरा गर्ने चालकहरूमध्येबाट छनौट गरिएको कम्पनीले जनाएको छ । ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत थप चालक साझेदारहरूलाई सम्मान गर्न विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो । सोअन्तर्गत १६ जनाले सामसङ ग्यालेक्सी ए१७ फाईभजी पाएका थिए भने ४ जनालाई स्टेकेसन प्याकेज प्रदान गरिएको थियो । साथै, कम्पनीले बढ्दो सञ्चालन खर्चलाई मध्यनजर गर्दै २०२६ अप्रिल १५ देखि लागू हुनेगरी २७ लाख रुपैयाँबराबरको इन्धन सहयोग कार्यक्रम पनि हामीले सञ्चालनमा ल्याएको छ । चालकहरूको सक्रियता र कार्यसम्पादनका आधारमा वितरण गरिएको उक्त सहयोगले प्लेटफर्ममा निर्भर चालकहरूलाई लक्षित आर्थिक राहत प्रदान गर्ने कम्पनीको भनाइ छ ।
‘इनड्राइभका लागि चालकहरू केवल साझेदार मात्र नभई हाम्रो समुदायको आधारस्तम्भ हुनुहुन्छ । उहाँहरूको योगदानको सम्मान गर्दै निष्पक्षता र स्वतन्त्र रोजाइमा आधारित प्लेटफर्म निर्माण गर्दै अघि बढ्नु नै हाम्रो लक्ष्य हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।