काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एन्ड मर्चेन्टले ‘रिलायबल समृद्धि योजना २’ निष्काशन गर्ने भएको छ । कम्पनीले यही वैशाख २९ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को एकाइ सार्वजनिक निष्काशनमा ल्याउने भएको हो ।
प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँबराबरको १० करोड एकाइ बिक्रीमा ल्याउन लागेको क्यापिटलले जानकारी दिएको छ । रिलायबल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । निष्काशन गरिने कुल १० करोड इकाईको १५ प्रतिशत एकाइ अर्थात् एक करोड ५० लाख एकाइमध्ये १४ प्रतिशत अर्थात् एक करोड ४० लाख एकाइ कोष प्रबन्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र एक प्रतिशत अर्थात् १० लाख एकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको आठ करोड ५० लाख एकाइ सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फन्डमा न्यूनतम एक सयदेखि एक करोड एकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
कम्पनीका अनुसार एकाइ खरिदका लागि यही जेठ एक गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै एकाइ बिक्री नभएको खण्डमा जेठ १२ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । फन्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ ।