काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र पछिल्लो समय देखिएको विवादले संस्थालाई थप अस्थिर बनाउने संकेत देखिएको छ। कार्यसमितिका प्रथम उपाध्यक्ष, महासचिवसहित केही पदाधिकारी तथा सदस्यहरूको सामूहिक राजीनामापछि उत्पन्न परिस्थितिले संघभित्र शक्ति संघर्ष चर्किएको हो।संघका अध्यक्ष भुवन सिंह गुरुङले संयमित रूपमा व्यवसायीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। तर, उनले केही समूहले वर्तमान अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै संस्थालाई अस्थिर बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनका अनुसार, केही राजनीतिक दल र समूहले राजीनामाको विषयलाई अनावश्यक रूपमा उचालेर संगठनलाई कमजोर बनाउने खेल भइरहेको छ।राजीनामापछि असन्तुष्ट पक्षले संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ। अध्यक्ष गुरुङले उक्त कार्यलाई गैरकानुनी भन्दै तत्काल प्रहरी वृत्त गौशालामा निवेदन दर्ता गराएका छन्। उनले कार्यालयको नियमित कामकाज अवरुद्ध पार्ने उद्देश्यले गरिएको तालाबन्दी तत्काल खोल्न र सेवा सञ्चालन सुचारु गर्न प्रशासनसँग माग गरेका छन्।
गुरुङले तालाबन्दीमा संलग्न व्यक्तिहरूको तस्वीर तथा भिडियो प्रमाण आफूहरूसँग सुरक्षित रहेको दाबी गरेका छन्। उनका अनुसार, केही व्यक्तिहरू योजनाबद्ध रूपमा उक्साहटमा परेर संस्थालाई विवादमा तान्ने र नेतृत्वमाथि दबाब सिर्जना गर्ने प्रयासमा छन्।अध्यक्ष गुरुङले १५ गते बिहान १० बजे नै प्रहरी परिचालन गरी कार्यालयको ताला खोल्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्, ताकि व्यवसायीहरूको साझा संस्थाको कामकाज पुनः सामान्य अवस्थामा फर्काउन सकियोस्।तालाबन्दीमा संलग्न रहेको आरोप लागेकाहरूमा दीपक ढुगाना, मिलन कट्टेल, विनोद जंग केसी, किशोर कुमार केसी, मानव बिष्ट र राजेन्द्र अधिकारीलगायत रहेका छन्। उक्त घटनासम्बन्धी भिडियोसमेत सार्वजनिक भएको बताइएको छ।यस घटनाप्रति संघका केही पूर्वअध्यक्ष तथा मेनपावर क्षेत्रका अग्रज व्यवसायीहरूले अध्यक्ष गुरुङको कदमलाई समर्थन गरेका छन्। उनीहरूले सीमित स्वार्थका लागि संस्थाको हितविपरीत गतिविधि गर्नु गैरजिम्मेवार र व्यवसायीविरोधी भएको टिप्पणी गरेका छन्।
देशभर रहेका एक हजारभन्दा बढी मेनपावर व्यवसायीहरूको छाता संगठनमै तालाबन्दी भएपछि व्यवसायीहरूमा असन्तुष्टि बढ्दो छ। धेरै व्यवसायीहरूले संस्थामा स्थिरता आवश्यक रहेको र नेतृत्वलाई काम गर्न दिनुपर्ने धारणा व्यक्त गरेका छन्।यता, अध्यक्ष गुरुङले मंगलबार कार्यसमिति बैठक बोलाएर विवाद समाधानको प्रयास गरिरहे पनि केही समूहले उक्त बैठकको प्रतीक्षा नगरी आक्रामक गतिविधि गरेको भन्दै असन्तोष व्यक्त गरिएको छ। व्यवसायीहरूले अहिलेको विवादमा मलेसिया रोजगारी र मेडिकल सिन्डिकेटसम्बन्धी विषय समेत जोडिएको दाबी गरेका छन्।उता, संघभित्रको विवादले सरकारी निकायहरूको ध्यानसमेत तानेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा नेपाल प्रहरीले घटनाक्रमलाई गम्भीर रूपमा लिएर आवश्यक निगरानी र कडाइ गर्ने तयारी गरिरहेको जनाइएको छ।समग्रमा, वर्तमान विवादबीच अध्यक्ष गुरुङले कानुनी प्रक्रियामार्फत समाधान खोज्ने रणनीति अपनाएका छन्। यद्यपि विरोधी समूह आक्रामक रूपमा अघि बढिरहेका कारण संघको आगामी कार्यदिशा अबको शक्ति सन्तुलन र नेतृत्वको कदममा निर्भर रहने देखिन्छ।