खजुरा । बाँकेको नरैनापुर गाउँपालिकाको वडा ३ स्थित एक गाउँमा आगलागी हुँदा १३ वटा संरचना पूर्णरूपमा क्षति भएको छ । मङ्गलबार बिहान भएको सो आगलागिमा नौ वटा घर र चारवटा गोठहरु जलेर नष्ट भएका छन् ।
नरैनापुर गाउँपालिका(३, गेग्ली गाउँमा मङ्गलबार बिहान भएको आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभए पनि गौँ, चामल, दाल, लत्ता कपडा लगायतका सम्पूर्ण सामानहरू जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भगवान्पुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रतीले जानकारी दिए । उनका अनुसार स्थानीयका फुसको छानो भएका नौ वटा कच्ची घर र चार वटा गोठ गरी १३ वटा संरचनामा पूर्णरूपमा क्षति भएको छ ।
आगलागी भएको जानकारीपश्चात् नेपालगन्ज उपमहानगरपालिकाको एउटा दमकल तथा नरैनापुर गाउँपालिकाको एउटा गरी दुई वटा दमकल बोलाइएको थियो । इलाका प्रहरी कार्यालय भगवान्पुरका प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहायतामा बिहान साढे ९ बजेतिर आगलागी पूर्णरूपमा नियन्त्रणमा लिइएको उनले बताए ।
प्रहरी निरीक्षक उप्रेतीले के कारणले आगलागी भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको तथा क्षतिको विवरण सङ्कलन कार्य भइरहेको बताए ।