काठमाडौं । प्रोफेसनल होल्डिङ्स लिमिटेड (साबिक प्रोफेसनल एजुकेटर्स लिमिटेड)ले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको २०औँ वार्षिक साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । सभाले सेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २ दशमलव ६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बोनस सेयर जारीपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजीमा हुने वृद्धिलाई समेत सभाले अनुमोदन गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको जारी पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रियाहरू पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित भएको छ । यस निर्णयसँगै संस्थाले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउँदै भविष्यका लागि नयाँ मार्गप्रशस्त गरेको छ ।
सभाले कम्पनीको आव २०८१/८२का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्षको आय, व्यय विवरण, नाफा नोक्सान हिसाब, नगत प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको थियो । साथै आव २०८२।०८३मा कम्पनीको लेखापरीक्षण गर्नका लागि एनबीएसएम एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट फर्मलाई लेखापरीक्षकमा नियुिक्त गरी निजको पारिश्रमिक निधारण गरिएको छ ।
यस्तै सभाले कम्पनीको सहायक कम्पनी युनिग्लोब हाइयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडले पनि पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले आव २०८१/८२ को लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि शुन्य दशमलब २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले स्वीकृत गरेको
हो ।