काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
काठमाडौंकमा आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङलाई एम्बुलेन्सको चापी तथा आवश्यक कागजात हस्तान्तरण गरेका हुन् । कम्पनीका अध्यक्ष घिमिरेले दुर्गम क्षेत्रमा बिरामीले अस्पताल पुग्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए । ‘जीवनभन्दा ठूलो केही छैन, उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
गाउँपालिका अध्यक्ष मेवाहाङले एम्बुलेन्सले स्थानीय बासिन्दाको स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार ल्याउने उल्लेख गरे । आपत्कालीन अवस्थामा छिटो र सुरक्षित रूपमा बिरामीलाई अस्पताल पुर्याउन अब सहज हुने उनको भनाइ छ । भौगोलिक रूपमा विकट र सडक सञ्जाल सीमित रहेको सिलीचोङ गाउँपालिकामा बिरामीलाई समयमै स्वास्थ्य संस्था पु¥याउन कठिनाइ हुने गरेको छ ।