काठमाडौं । काठमाडौंबाट धादिङ र नुवाकोट चल्ने यातायात बाजालुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।
काठमाडौं महानगरले एकीकृत बसपार्क सञ्चालनका लागि व्यवसायीहरुलाई आग्रह गरेको थियो । महानगर र यात व्यवासायीबीचको समझदारी पनि नयाँ बसपार्कबाट यातयात सञ्चालन हुन लागेको हो । यसअघि धादिङ र नुवाकोट चल्ने यातयात बसपार्कबाहिरका क्षेत्रबाट सञ्चालन हुँदै आएका थिए । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बसपार्क सञ्चालन तथा व्यवस्थापनमा सरोकार राख्ने सबै पक्षसँगको छलफलपछि समस्या समाधान भएको बताइन् । व्यवसायीहरुलाई सेवा स्थानान्तरण गर्न समय दिएर, व्यावसायीका मर्का र गुनासाको सम्बोधन गरेर लामो समयदेखि अड्किएको एकीकृत बस पार्क सञ्चालन व्यवस्थापनसँग सम्बन्धित समस्या समाधान गरिएको उनको भनाइ छ । सार्वजनिक यातायात बस पार्कभित्रबाट सञ्चालन भएपछि चक्रपथ कोरिडोरमा सवारी पार्किङको समस्या न्यूनीकरण भएको छ । सडक किनारामा गाडी रोकेर यात्रु चढाउँदा र ओराल्दा हुने दुर्घटनाको जोखिम समाधान भएको थियो ।
महानगरपालिकाले वैशाख ७ गते व्यवसायीलाई अन्तिम पटक सार्वजनिक सूचना दिएर बसपार्कभित्र मात्र सवारीसाधन रोक्ने, यात्रु चढाउने तथा ओराल्ने काम सञ्चालन गर्न गराउन अनुरोध गरेको थियो । वैशाख ७ गते कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्की, प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीसहितको वैठकले विगतका निर्णय र निर्णय कार्यान्वयनको अवस्था समीक्षा गर्दै अन्तिम पटक ३ दिनको समय थप गरेको थियो । त्यही बैठकले निर्णय कार्यान्वयनका लागि समन्वय र अनुगमन गर्न महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई जिम्मेवारी दिएको थियो । सोअघि २०८२ चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । एकीकृत बस पार्कमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको पार्किङ, टिकट काउन्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप एकै ठाउँमा मात्र हुनेछ ।
प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौंबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा सवारीसाधन बसपार्कबाहिरै पार्किङ हुने गरेका थिए । यात्रु चढाउने तथा ओराल्ने पनि बसपार्क बाहिरैबाट गर्नेगरेका थिए । ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार अहिले नुवाकोटतर्फ चल्ने करिब ६५ वटा धादिङतर्फ चल्ने करिब ९० वटा सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । यी सवारीसाधन सञ्चालन गर्ने व्यवसायीले माग गरे अनुसार टिकट काउन्टरको ठाउँ उपलब्ध गराइने जनाइएको छ ।
बसपार्कमा लामो दूरीको एउटा सवारीसाधन ९६ घण्टा पार्किङ गरेको चार सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दूरीका माइक्रो बसको दुई सय २० रुपैयाँ लिने गरिएको मल्लको भनाइ छ । बसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट तीन सय ४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, बुटबल, स्याङ्जा, दाङलगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा सात सय ५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ ।