काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले आफ्ना सांसदहरूलाई समसामयिक राजनीतिक अवस्था र जिम्मेवारीबारे स्पष्ट निर्देशन दिएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित बैठकमा उनले सांसदहरूलाई विभिन्न विषयमा मार्गनिर्देशन दिँदै पार्टीको धारणा प्रष्ट पारेका हुन्। उनले सांसद र मन्त्रीबीच निश्चित समय अन्तरालमा मन्त्रालयका सचिवसहित मन्त्रालयगत छलफल गरिने जानकारी दिँदै कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य रहेको बताए। लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सेवाभाव र सहजीकरणका लागि बनेको स्पष्ट पार्दै “मालिक बन्न खोज्नेका लागि यो दल नभएको” उल्लेख गरे। उनले सांसदहरूलाई कानुन निर्माणलाई प्रमुख प्राथमिकता बनाउन आग्रह गर्दै आफ्नो भूमिकामा मर्यादित र जिम्मेवार रहन निर्देशन दिएका छन्।सरकारका पछिल्ला कदमहरूबारे पनि उनले धारणा राखेका छन्। राष्ट्रपतिलाई सिफारिस गरिएको अध्यादेशबारे उनले विगतमा जस्तो दलीय स्वार्थका लागि नभई सुधारका लागि ल्याइएको बताएका छन्। विगतका गलत अभ्यास सच्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले अहिलेको कदम कानुनी दायराभित्रको सुधार प्रयास भएको जिकिर गरे। सुकुम्बासी व्यवस्थापनबारे उनले जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिँदै कसैलाई घरबारविहीन बनाउने सरकारको उद्देश्य नरहेको बताए। गास, बास, कपास र रोजगारीको सुनिश्चितता सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै यस विषयलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न आग्रह गरे।त्यस्तै, अन्तर्जातीय विवाहका नाममा हुने विभेद र दुर्घटना रोक्न पहल गर्नुपर्नेमा जोड दिँदै उनले सांसदहरूलाई घटनास्थलमा भावनामा बहिएर मर्यादा भुल्न नहुने चेतावनी दिए। संगठन सुदृढीकरण, जनगुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, तथा जनअपेक्षाअनुसार सक्रिय र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने विषयमा पनि उनले सांसदहरूलाई सचेत गराएका छन्।लामिछानेले देशभर रहेका समस्याहरू समाधान गर्न विशेष आयोग गठन गरी छिटो काम अघि बढाइने उल्लेख गर्दै जनताको अपेक्षाअनुसार काम गर्न सक्रियता र जिम्मेवारी आवश्यक रहेको बताए। साथै, कुनै पनि कठिनाइ वा अन्योलता भए आफू सधैँ सहजीकरणका लागि उपलब्ध रहने बताएका छन्।उनको यस निर्देशनलाई पार्टीभित्र अनुशासन, कार्यशैली र उत्तरदायित्वलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।