काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट पैसा उठाउने र बचतकर्ताहरूलाई बाँड्ने काम एकसाथ सुरुवात गर्ने बताएकी छिन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन)मा आवद्ध सञ्चारकर्मीहरूसंग बुधबार मन्त्रालयमा उनले सरकारले बचत फिर्ता गर्दा साना बचतकर्ताहरूबाट सुरु गरेर क्रमशः ठूला बचतकर्ताहरूलाई दिँदै जाने बताइन् । उनले ऋण असुल गर्दा सबैभन्दा पहिले ठूला ऋणबाट सुरु गर्ने नीति लिएको जानकारी दिइन् । यही कारण कार्यविधि तय भए पनि तत्काल चक्रीय कोष स्थापना गरेर बचत फिर्ता गर्ने काम सुरु नगरेको उनको भनाइ छ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूलाई पैसा फिर्ता गर्न स्थापना गरेको चक्रिय कोषबारे जनमानसमा उत्पन्न भएको भ्रम चिर्न आवश्यक रहेको बताइन् । ‘सरकारले राज्यकोषको पैसा पीडित बचतकर्तालाई फिर्ता दिएर सहकारीका संचालकहरूलाई चोख्यायो । अब सहकारीलाई समस्याग्रस्त बनाइदिए पनि राज्यले पैसा तिरिदिन्छ भन्ने सन्देश जान सक्छ । तर यो गलत हो । उनले भनिन्, ‘राज्यले बिउ पुँजी कोषमा हालिदिने हो । तर भविष्यमा समस्याग्रस्त सहकारीको ऋणीहरूबाट असुल उपर गरेर राज्यको पैसा भरपाइ गर्ने हो ।’
उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना जारी गरेपछि ५३ जना ऋणीहरू समितिमा गएको र त्यसमध्ये १२ जनाले ऋण चुक्ता गरेको जानकारी दिइन् । उनले भनिन्, ‘समितिले उपलब्ध गराएको १५ दिनभित्र ऋण नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गर्नुका साथै उनीहरूले राज्यबाट प्राप्त गर्ने बिजुली, खानेपानी, इन्टरनेटलगायतका सेवा सुविधा पनि रोक्का गर्ने योजना छ ।’ यसैगरी मन्त्री रावलले हाल ऋणीको सम्पत्ति लिलामी गर्दा नेपाल राष्ट्र बैंक मातहतका बैंक वित्तीय संस्थाहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले राष्ट्र बैंकसंग यस्तो सम्पत्ति लिलामी गरेर प्राप्त हुने पैसा सहकारी र बैंक वित्तीय संस्थाहरूले आधा–आधा बाँडेर लिने व्यवस्था गर्न अनुरोध गरेको जानकारी दिइन् ।
उनले भनिन्, ‘हिजो सम्म रवि लामिछानेको नाम जोडेर समाचार प्रकाशन गर्दा मकै पोलेर सहकारीमा बचत गर्ने मानिसहरुको पीडा पनि आउने गर्दथ्यो । आज सम्म समस्या यथावत छ । तर पनि उनीहरुको विषयमा समाचार आउँदैन । यसमा राजनीति भयो । पत्रकारहरुले सेलेक्टिभ भएर समाचार लेख्न हुँदैन ।’
कार्यक्रममा सिजेएनका अध्यक्ष अर्जुन खतिवडा र कोषाध्यक्ष
प्रविन राउतले सिजेएनको भूमिका र सहकारीको समस्या बारे मन्त्री रावललाई जानकारी गराएका थिए ।