काठमाडौं ,नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका छन्। बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका केन्द्रीय पूर्वपदाधिकारी, पूर्व केन्द्रीय सदस्य, जिल्ला सभापति तथा पूर्वसभापति, संघीय तथा प्रदेश सांसद, साथै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
देश र पार्टीको पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राख्दै आगामी रणनीति तय गर्न सुझाव संकलन गर्ने उद्देश्यले छलफल आयोजना गरिएको जनाइएको छ।छलफलका सहभागीहरूले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नविकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक नगर्नुपर्ने अडान व्यक्त गरेका छन्। उनीहरूको भनाइमा अहिले सदस्यता अध्यावधिक गर्नु व्यवहारिक नहुने देखिन्छ।
त्यस्तै, विशेष महाधिवेशनका कारण पार्टीभित्र एकता कमजोर बनेको निष्कर्ष निकाल्दै सहभागीहरूले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापतिमाथि नै रहने धारणा राखेका छन्।कार्यक्रममा डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, संजय गौतम, शिव हुमागाईं, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोखरेल, किरण यादव, गणेश लामा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।त्यसैगरी संघीय सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा, बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, विभिन्न जिल्लाका सभापति तथा स्थानीय तहका जनप्रतिनिधिहरू समेत सहभागी भएका थिए। कार्यक्रममा करिब १ सय २३ जना नेताहरूको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ।