काठमाडौं । नयाँ सरकार गठन भएपछि अमेरिकी कूटनीतिज्ञको भ्रमण बाक्लिएको छ । सहायक विदेशमन्त्री समीर पल कपुर आएको डेढ साता नबित्दै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौं आइपुगेका हुन् ।
नेपालस्थित अमेरिकी राजदूतावासले गोर नेपाल आइपुगेको पुष्टि गरेको छ । दूतावासका अनुसार उनले सरकारका वरिष्ठ अधिकारीसहित व्यावसायिक क्षेत्रका व्यक्तिहरूसँग भेट्ने कार्यतालिका छ । ‘हामी दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोरलाई काठमाडौंमा हार्दिक स्वागत गर्दछौँ’, दूतावासले भनेको छ, ‘भ्रमणका क्रममा विशेष दूत गोरले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यवसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्नुहुनेछ ।’
यसअघि यही वैशाख ७ मा अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल आएका थिए । उनले परराष्ट्रमन्त्री शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतसँग भेटवार्ता गरेका थिए । बिहीबार नेपाल आइपुगेका गोर भारतका लागि अमेरिकी राजदूत समेत रहेका छन् । उनलाई राष्ट्रपति ट्रम्पले दक्षिण तथा मध्यएसिया हेर्ने जिम्मेवारी समेत दिएका छन् ।
गोरको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि अमेरिकाले विश्वभर दिँदै आएका विभिन्न सहयोगहरू रोकेको थियो । तर नेपाललाई दिइएको एमसीसी नेपाल सम्झौता भने अमेरिकाले यथावत् राखेको छ । सम्झौताअनुसार एमसीसीबाट ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर गरी कुल ७४ करोड ७० लाख डलरको संयुक्त लगानीमा नेपालको विद्युतीय प्रसारणलाइन र सडक सञ्जाल सुधारका कार्यक्रम कार्यान्वयनमा छ ।
अमेरिकाले नयाँ सरकारसँग मिलेर विकास तथा सुरक्षा साझेदारीलाई अगाडि बढाउने खुला रुपमा बताउँदै आएको छ । एकपछि अर्को कूटनीतिक भ्रमण भएकाले नेपाललाई अमेरिकाले प्राथमिकता दिएको कूटनीतिज्ञहरू बताउँछन् ।