काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग गरेको छ ।
कम्पनीले रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको हो । शारीरिक रूपमा अशक्त भई दुवै हात नचल्ने सन्देशले परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आएका छन् । उनले हाल रोल्पामै रहेको विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका छन् । तर, रोल्पामा विशेष क्षमता भएका विद्यार्थीहरूका लागि उपयुक्त अपाङ्गमैत्री विद्यालयको अभाव र कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण उनको थप अध्ययनमा समस्या देखिएको छ ।
कम्पनीले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिनका लागि काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ । साथै, उनको रेखदेख तथा आवासीय व्यवस्थाका लागि अपाङ्ग नवजीवन केन्द्रसँग सहकार्य गरेको जनाएको छ । उक्त व्यवस्था अन्तर्गत, अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययनको समन्वय गर्नेछ भने खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिनेछ । सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि लाग्ने खर्च शिवम् सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रलाई सहयोग स्वरुप अर्धवार्षिक रूपमा उपलब्ध गराउने जनाएको छ ।