काठमाडौं । कोशी प्रदेशको विराटनगरमा हुन लागेको राष्ट्रियस्तरको वमन लिडरसिप समिट २०२६को तयारी पूरा भएको छ ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, उद्योग विभागसँगको सहकार्यमा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा वैशाख २१ गते समिट हुन लागेको हो । सम्मेलन आयोजनाको संयोजना सीएनआई वमन लिडरसिप फोरमले गरेको छ । बिहीबार परिसंघमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनमा केन्द्रित रहने बताए । सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिवृद्धि, स्थानीय कृषि, सीप, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन तथा वर्तमान एवं सफल व्यावसायिक उदाहरणहरूमा केन्द्रित तथा उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत हुने उनले जानकारी दिए ।
सम्मेलनको आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलता कथा प्रस्तुति, फोनपे सहित डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रर्दशनी, उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबीच नेटवर्किङ रहेको सीएनआई वमन लिडरसिप फोरमकी सभापति विदूषी राणाले बताईन् । यस सम्मेलनले महिला उद्यमीहरू, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने परिसंघले जनाएको छ ।
सम्मेलनलाई सफल बनाउन प्रायोजकको रुपमा नबिल बैंक, आईएलओ, बोटलर्स नेपाल (कोका–कोला), लक्ष्मी बैंक, फोनपे, कुमारी बैंक र नोबेल मेडिकल कलेजले रहेका छन् ।