काठमाडौं । बिचौलिया दीपक भट्टलाई ललितपुर प्रहरीले सुविधै सुविधा दिएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरको मातहतमा पुल्चोक हुँदै सानेपा प्रहरी चौकीको हिरासतमा रहेका भट्टलाई ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले अत्यधिक सुविधा दिएका हुन् ।
उनले हिरासतमै ह्वाट्स एप चलाउने सुविधा पाएका छन् भने ५ तारे होटलको सेफबाट निर्मित खानेकुराको व्यवस्था गरिएको छ । केही दिनअघि उनले नेपाल माइक्रो इन्स्योरेन्सका बोर्ड अफ डाइरेक्टर समेत रहेका सन्तोष गुरु भनिने उदय नारायण भट्टराईलाई फोन गरेर कम्पनीको बोर्ड बैठक राख्न आदेश दिएका थिए । भट्टकै आदेशअनुसार बोर्ड बैठक समेत सम्पन्न भएको स्रोतले आर्थिक दैनिकलाई बताएको छ ।
त्यसो त हाल ललितपुर जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी रहेका प्रेम प्रसाद भट्टराई कुनै समय दिपक भट्टकै सेटिङमा सम्पत्ति शुद्धीकरण विभागको प्रमुखको रूपमा सरुवा गरिएका पात्र हुन् । भट्टराईले दिपकको योजनाअनुसार अधिकांश स्रोत नखुलेका सम्पत्ति थुपार्ने माडवारी व्यापारीलाई सफाइ दिएर प्रतिव्यक्ति दुई करोड रुपैयाँको दरले रकम उठाउने व्यवस्था भट्टलाई मिलाइदिएका थिए ।
सुलभ अग्रवालको छ अर्ब ७१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिए पनि उनै भट्टराईले सफाइ दिएका थिए । हाल यो मुद्दा कमजोर हुने र कसुर स्थापित हुन निकै कठिन रहेको स्रोत बताउँछ । त्यसको कारक हाल ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारी रहेका भट्टराई नै हुन् । दिपक भट्टसँग साझेदारीमै सम्पत्ति शुद्धीकरणको फाइल टुंगो लगाएका भट्टराई हाल ललितपुर जिल्ला प्रशासन कार्यालयको सीडिओ भएका कारण प्रशासनलाई सुविधा दिन उनले निर्देशन दिएका छन् ।
स्रोतका अनुसार सीडीओ भट्टराईलाई दिएको नजराना समेत दिपक भट्टले प्रमाणको रुपमा राखेका छन् । यसअघि राजनीतिक दलका नेता, पत्रकार र कर्मचारीको साझेदारीको पोल खुलेपछि कतिपयले आफ्नो स्पष्टीकरण दिइरहेका छन् भने कतिपय कारबाहीमा तानिएका छन् ।
सम्पत्ति शुद्धीकरण विभागका निवर्तमान महानिर्देशक गजेन्द्र ठाकुरले भट्टकै कम्पनी हिमालयन रि–इन्स्योरेन्समा श्रीमती राखी ठाकुरको नाममा सेयर लिएको विषय सञ्चार माध्यममा आउनेबित्तिकै महानिर्देशक ठाकुरलाई तालुकदार मन्त्रालय तानिएको छ । तर, ललितपुरका सीडीओ भने भट्टलाई ज्वाइँ सुविधा दिएर गुन लगाइरहेका छन् ।