काठमाडौं । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा मार्ट आयोजना गरिएको हो ।
शुक्रबारदेखि सुरु भएको मार्ट १० बुँदे घोषणापत्र जारी गदै शनिबार सकिएको छ । घोषणापत्रमा गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाइएको पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले जानकारी दिए । आगामी वर्ष पाँचौँ गाउँ पर्यटन मार्ट गोरखा नगरपालिकामा आयोजना गर्ने घोषणा गरिएको छ । यस कार्यले ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ । मार्टले देशभर सरोकार भएकाहरूबीच सशक्त नेटवर्किङ र सहकार्यको आधार निर्माण भएको र यसले गाउँ पर्यटनको दिगो विकासमा नयाँ ऊर्जा थपेको उल्लेख गरिएको घोषणापत्रमा उल्लेख छ ।
यस्तै, मार्टमा गण्डकी प्रदेशका ३० वटा होमस्टेहरूले आफ्नो विशेषता, संस्कृति र आतिथ्य प्रदर्शन गरी स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको र यसबाट होमस्टेहरूको पहिचान अझ सुदृढ भएको जनाइएको छ । प्रत्येक होमस्टेमा स्थानीय उत्पादन, हस्तकला र परिकारहरूको प्रवर्द्धनका लागि स्थानीय तहसँग सहकार्य गरेर ‘कोसेली घर’ स्थापना गर्न पहल गर्ने उल्लेख छ । यसैगरी प्रत्येक वर्ष आयोजना हुने मार्टमा ‘बेस्ट होमस्टे अफ द इयर’ पुरस्कारको गरिने र यसबाट गुणस्तरीय सेवा र प्रतिस्पर्धात्मक विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । ‘होमस्टेहरूमा स्वच्छता, आतिथ्य र सेवा गुणस्तर सुधार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ । स्थानीय उत्पादन, कृषि र हस्तकलालाई पर्यटनसँग जोड्दै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने रणनीति अपनाइनेछ’, घोषणापत्रमा भनिएको छ ।
गाउँ पर्यटनमा युवाहरूको सहभागिता बढाउन रोजगारी तथा उद्यमशीलताका अवसरहरू सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्दै गाउँ पर्यटन गन्तव्यहरूबीच आन्तरिक पर्यटन प्रवर्द्धन र सहकार्य विस्तार गर्दै संयुक्त ‘प्याकेज’ तथा कार्यक्रमहरू विकास गरिने घोषणापत्रमा उल्लेख छ । मार्टको शुक्रबार गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा मन्त्री रिमालले बन्दीपुरमा आयोजित पर्यटन मार्टले स्थानीय कला, संस्कृति प्रवर्द्धन गर्नुका साथै रोजगारी र आयआर्जन बढाउने बताइन् । उनले भनिन्, ‘गाउँ बलियो बने मात्र समग्र समृद्धिको आधार तयार हुन्छ । गाउँ बलियो बनाउने प्रमुख आधार नै पर्यटन हो । स्थानीय समुदायलाई पर्यटनसँग जोड्न आवश्यक छ ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पछिल्लो समय समुदायसँग जोडिने पर्यटन प्रवृत्ति विश्वभर बढ्दो क्रममा रहेको बताए । ‘नयाँ अनुभूति गर्ने र समुदायसँगै इन्गेज हुने ट्रेन्ड बढिरहेको छ । यसका लागि हामीले पर्यटन चेतना विस्तार गर्ने, खोज गर्ने र पर्यटन अभ्यासका कामहरुलाई तीव्रता दिएका छौँ’, उनले भने, ‘हाम्रा परम्परागत सीप, ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता छ ।’ बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले गाउँका कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा बन्दीपुर बजार क्षेत्रमा गण्डकी प्रदेशका ११ जिल्लाका १९ वटा होमस्टेहरुको सहभागितामा र्याली आयोजना गरिएको थियो । साथै वैशाख १६ र १७ गते तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ मा रहेको रुम्सी सामुदायिक होमस्टे र रामकोट सामुदायिक होमस्टेलगायतका क्षेत्रमा परिचयात्मक भ्रमण गरिएको थियो ।