काठमाडौँ। लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्गबारे उठेको विवादमा भारतले आफ्नो धारणा पुनः स्पष्ट पारेको छ। नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ दिँदै भारतले उक्त मार्ग नयाँ नभई सन् १९५४ देखि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको दाबी गरेको हो।भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले लिपुलेक पास हुँदै सञ्चालन हुँदै आएको कैलाश मानसरोवर यात्रा कुनै नयाँ विषय नभएको उल्लेख गरे। उनका अनुसार यो मार्ग दशकौँदेखि निरन्तर प्रयोगमा रहेको छ।
भारतले नेपालका केही भू–भागसम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यस्ता एकतर्फी दाबी स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ। साथै, सीमा विवादलगायत द्विपक्षीय मुद्दाहरू समाधानका लागि संवाद र कूटनीतिमार्फत रचनात्मक छलफल गर्न भारत तयार रहेको जनाएको छ।यसअघि आजै नेपाल सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवर मार्ग खुला गर्ने घोषणा गरेको विषयमा ध्यानाकर्षण गराउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो। सो नोट पठाएको केही घण्टामै भारतले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो। लिपुलेक क्षेत्र लामो समयदेखि नेपाल–भारतबीच विवादित रहँदै आएको छ।