झापा । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ ।
मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए ।
हाल गौरीगन्ज–२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले राससलाई बताए । “आठमौजा छोटी भन्सारचाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोबार हुनसकेको छैन”, उनले भने, “अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन् ।”