अविरल वर्षासँगै काभ्रेपलाञ्चोकको रोसी खोलामा आएको बाढीमा फसेका ८९ जना यात्रुको करिब ९ घण्टापछि सकुशल उद्धार गरिएको छ। सोमबार साँझ ५ बजेदेखि बीपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–७ घुमाउने क्षेत्रमा पाँच वटा हायस र इभी गाडी खोलाको बीच भागमै अड्किएका थिए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा, पनौती, बेथानचोक, धुलिखेल र नमोबुद्ध क्षेत्रमा परेको लगातार वर्षापछि खोलामा एक्कासी बाढी आएको थियो। काठमाडौँतर्फ आउँदै गरेका बा४ख ६३५५, बा५ख ३१५८, बा४ख ५२६१, बागमती प्रदेश ०१–००६ ख ७५९६ र बागमती प्रदेश ०८–००१ ख ००७७ नम्बरका सवारी साधनमा सवार यात्रु बाढीमा फसेका थिए। उद्धारका लागि नेपाली सेनाको धुलिखेलस्थित श्रीमेहर गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोली तथा स्थानीयवासी परिचालन भएका थिए। प्रारम्भिक प्रयासबाट उद्धार सम्भव नभएपछि थप सहयोगका लागि राफ्टिङ बोट प्रयोग गरिएको थियो। अन्ततः राति अबेर सबै यात्रुलाई सुरक्षित रूपमा उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ।उद्धार गरिएका यात्रुलाई दुई वटा यात्रुवाहक बस र सशस्त्र प्रहरीको गाडीमार्फत राति नै गन्तव्यतर्फ पठाइएको थियो। प्रहरीका अनुसार वर्षाका बेला सवारी सञ्चालन रोक्न निर्देशन दिइएको अवस्थामा पनि चालकहरूले जबरजस्ती गाडी अघि बढाएकाले दुर्घटनाजन्य अवस्था सिर्जना भएको हो। घटनामा संलग्न पाँचै चालकलाई नियन्त्रणमा लिइएको छ।बाढीका कारण अस्थायी डाइभर्सन सडक बगाएपछि खोलामा अड्किएका सवारी साधन भने घटनास्थलमै रहेका छन्।यसअघि २०८१ असोज दोस्रो सातामा आएको बाढीले बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्म करिब २९ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि रोसी खोलाको किनारबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको छ। तर सामान्य वर्षापछि पनि बाढी आउँदा यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। हाल बाढीबाट क्षतिग्रस्त उक्त राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माण कार्य जारी रहेको छ।