काठमाडौं । फाइनान्स कम्पनीहरूको खुद नाफा बढेको छ । सञ्चालनमा रहेका १७ मध्ये हालसम्म चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १४ मध्ये ११ वटाले झण्डै ७५ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।
गत आवको सोही अवधिमा यी फाइनान्सहरूले ६५ करोड रुपैयाँको हाराहारीमा खुद नाफा कमाएका थिए । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका मध्ये चालू आवको तेस्रो त्रैमासमा तीनवटाले खुद नोक्सानी व्यहोरका छन् । गत आवको सोही अवधिमा खुद नोक्सानी व्यहोर्ने फाइनान्स कम्पनीको संख्या पाँच रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पछिल्लो नौ महिनाको अवधिमा मञ्जुश्री, गोर्खाज र आईसीएफसी फाइनान्सले क्रमशः २१ करोड ८९ लाख १० हजार, १२ करोड ९४ लाख ७४ हजार र १० करोड ३१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा मञ्जुश्री १७ करोड ११ लख १९ हजार रुपैयाँ खुद नाफा कमाउँदा गोर्खाजले चार करोड २१ लाख ८२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो भने आईसीएफसीले १९ करोड ५० लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गुडविल, वेस्ट र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः १० करोड १३ लाख ३६ हजार, पाँच करोड ८७ लाख ५५ हजार र चार करोड ५५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आवको सोही अवधिमा गुडविलले एक करोड ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाउँदा बेस्टले सात करोड ५२ लाख एक हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो भने गुहेश्वरीले तीन करोड २४ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालू आवको तेस्रो त्रैमासिक अवधिमा रिलायन्स, सेन्ट्रल र श्री इन्भेस्टमेन्ट फाइनान्सले पनि क्रमशः तीन करोड ७९ लाख एक हजार, तीन करोड ६९ लाख ३६ हजार र दुई करोड ५३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा रिलायन्सले नौ करोड चार लाख ४१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा सेन्ट्रल र श्री इन्भेस्टमेन्टले क्रमशः एक करोड ६९ लाख ७७ हजार र चार करोड ९१ लाख सात हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
मल्टीपर्पस र समृद्धि फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः ५३ लाख २३ हजार र सात लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा मल्टीपर्पसले दुई करोड १६ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाउँदा समृद्धिले तीन करोड ५७ लाख पाँच हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
चालू आवको तेस्रो त्रैमासिक अवधिमा नेपाल, जानकी र प्रोग्रेसिभ फाइनान्सले भने क्रमशः सात करोड ८६ लाख २५ हजार, दुई करोड ९० लाख ८९ हजार र दुई करोड ४७ लाख ४३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेका छन् । गत आवको सोही अवधिमा नेपाल फाइनान्सले १७ लाख रुपैयाँ खुद नाफा कमाउँदा जानकीले १२ करोड ८३ लाख २५ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो भने प्रोग्रेसिभले नौ करोड चार लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।