काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको लगानीले नै देशको अर्थतन्त्रलाई विस्तार गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारको स्रोत सीमित रहेकोले अर्थतन्त्रको विस्तार गर्ने काम निजी क्षेत्रकै भएको बताए ।
करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने सरकारको दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने उनले बताए । उनका अनुसार सरकारको खर्च जीडीपीको करिब २५ देखि ३० प्रतिशतमात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुने गरेको छ । उनले निजी क्षेत्रलाई चलायमान बनाउन आर्थिक प्रगतिमा बाधक बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने योजना अघि बढाइएको जानकारी दिए । त्यसैगरी, राजस्व प्रशासन सुधार गर्दै कर प्रणालीलाई उद्यममैत्री र लगानीमैत्री बनाइने उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरूप नीतिहरू अघि बढाउने बताए । निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षामार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने उनको भनाइ छ । कार्यक्रममा उनले आगामी बजेट निजी क्षेत्रलाई सारथी बनाएर आशा जगाउने किसिमको ल्याउने बताए । आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ । मन्त्री वाग्लेले मन्त्रिपरिषद्मा निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी रणनीतिक प्रस्ताव पेस गरिएको जानकारी दिए ।