आर्थिक विकासमा सरकारले महत्वाकांक्षी छलाङको घोषण गरेको छ । यद्यपि दुईतिहाइको सकारले चालु वर्षको बजेटको खाका भने ल्याएको छैन तर अर्थमन्त्रीले गएको हप्ता प्रस्तुत गरेको अहिलेसम्मको अर्थतन्त्रको स्थितिपत्रमा केही संकेतहरू भने गरिएका छन् । त्यसमा आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदरदेखि अर्थतन्त्र हाल भइरहेको अवस्थाबाट आगामी पाँचै वर्षभित्र एकसय पचास खर्बको बनाउने भनेर जसरी प्रक्षेपण गरिएको छ । त्यसलाई अहिलेका अवस्थाले धान्न सक्ने हो कि होइन भन्ने प्रश्नहरू खडा हुन थालेका छन् । चालु वर्ष आगामी पाँच वर्षको आर्थिक गन्तव्य निर्धारण गर्ने पहिलो पाइलो हुन्छ । यस्तो प्रथम पाइलोमा नै अवरोधका रूपमा पश्चिम एसियाको हाल चलिरहेको युद्ध देखिएको छ । जसले युद्धमा कतै पनि सामेल नभएको देश नेपाल युद्धमा संलग्न भए जसरी नै कष्टकर हुँदै गएको स्थिति छ । यसमा सरकारका कदमै पनि संकटका कारक बनेका छन् । सरकारले बजारलाई नियन्त्रणमा राख्न सकेको छैन । त्यसमाथि खुलासीमामा सयरुपैयाँको भन्सार नीतिले ठूलो जनसंख्याले आफू पीडित भएको सन्देश दिइरहेको छ । सीमामा जति कडाइ भयो उपभोग्य वस्तुमा मूल्यको दबाब त्यति नै बढी पर्छ ।
गएको हप्ता सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा कुल गार्हस्थ्य उत्पादन वृद्धिदरको प्रारम्भिक अनुमान आएको छ । त्यसमा औंल्याइएअनुसार अघिल्लो अर्थात् चालु बजेट सार्वजनिक गर्दा चालु आर्थिक वर्ष २०८२/०८३ को नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरिएको थियो, अहिले ३ दशमलव ८५ प्रतिशत हुने अनुमान छ, जो पश्चिम एसियाको युद्ध पनि एउटा कारण हो । तत्काल अन्त्य भएन भने नेपालको आर्थिक वृद्धिदर अहिले गरिएको अनुमानभन्दा पनि घट्ने कुरा बताइएको छ ।
पश्चिम एसियाली मुलुकमा भएको युद्धले नेपालमा पेट्रोलको मूल्य करिब ४१ प्रतिशतले वृद्धि भएको, डिजेल/मट्टितेलको मूल्य ६७ प्रतिशतले वृद्धि भएको, युद्ध निरन्तर चलिरहेमा मूल्यवृद्धि अझै उच्च हुने स्थिति छ । तत्कालै यो युद्ध अन्त्य भयो भने मात्र ३ दशमलव ८५ प्रतिशतको आर्थिक वृद्धि कायम रहने छ । चालु आर्थिक वर्ष धेरै प्रतिकूलताबाट गुज्रियो । आर्थिक वर्षको सुरुमै मौसम प्रतिकूल बन्यो भने जेनजीका नाममा भएको हिंसाले पूरै खर्बको क्षति गराएको अवस्था निश्चय नै सामान्य होइन । त्यस्ता घटना भएको छ महिना बढी हुँदा पनि त्यसको यथोचित छानबिन र दोषीमाथि कारबाही भएन । यसले लगानीकर्ताहरूमाथि यसरी भय उत्पन्न ग¥यो, जो चालु वर्ष सकिन लाग्दा पनि त्यसले झस्काइरहेकै अवस्था छ । त्यसमाथि इरान, अमेरिकी र इजरायली युद्ध थपिएको छ । जसले आर्थिक वृद्धिदर झन् घट्ने नै देखाउँछन् । यसको क्षतिपूर्ति हुनेगरी सरकारले वैकल्पिक बाटो देखाएको पाइँदैन ।
यति हुँदाहुँदै पनि चालु आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति आम्दानी भने एक हजार पाँच सय ३५ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । यो आफैँमा दुई वर्षअघि अर्थात् आर्थिक वर्ष २०८१/८२ को नै हो । राष्ट्रिय लेखा तथ्यांकअनुरूप भने अर्थतन्त्रको आकार करिब चार खर्बले बढ्ने अनुमान गरिएको अवस्था छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको विवरण सार्वजनिक गरिएको थियो । एउटा सत्य के हो भने अनुमान गरिएको विगतका कुनै वर्षमा पनि अर्थको आकार यथार्थ रहेन भने चालु वर्षको पनि नियति यस्तै हुन सक्दछ । यहिँनेर हो सरकारको वास्तविक क्षमताको मापन हुने ठाउँ पनि । अहिलेसम्म सरकारले अनुमानलाई यथार्थमा परिणत गराउने सूत्र देखाएको छैन । अबको बजेटले यता पनि ध्यान देओस् ।